बिना भट्ट पौडेल
एउटा इमानदार र समर्पित शिक्षकको आत्मसम्मानमा जब राजनीतिक र प्रशासनिक स्वार्थको बञ्चरो प्रहार हुदा ब्यबस्थामा कति घिनलाग्दो खेल हुदो रहेछ भन्ने कुरा आज म शब्दमा व्यक्त गर्दैछु। यो मेरो मात्र कथा होइन, नेपालको सार्वजनिक शिक्षा क्षेत्रमा राजनीतिक गिद्धे नजर र स्थानीय तहको मनोमानीको शिकार भएका सयौँ इमानदार शिक्षकहरूको प्रतिनिधि आवाज हो।
मेरो शैक्षिक यात्रा विक्रम संवत २०६४ साल साउन १ गतेबाट शुरु भएको हो। तत्कालीन समयमा द्वन्द्वको शितलहरी र असुरक्षा अझै बाँकी नै थियो। धादिङको साविक दार्खा (हाल खनियाबास गाउँपालिका–३) अत्यन्तै खतरापूर्ण र दुर्गम मानिन्छथ्यो। त्यस्तो ठाउँमा नयाँ विद्यालय (चन्द्रदेवी प्रा.वि.) को जग बसाल्न र शुरुवात गर्न म तयार भएँ। त्यो बेला मेरो काखमा ४ वर्षको सानो छोरा र ८ वर्षकी छोरी थिए। ती कलिला बालबाच्चालाई छोडेर, कयौँ रात डर र त्रासमा बिताउँदै मैले बालविकास केन्द्रदेखि कक्षा ३ सम्म विद्यालयलाई स्तरोन्नति गराएँ। झण्डै ९ वर्षसम्म प्रधानाध्यापक (प्र.अ.) को रूपमा मैले त्यो विद्यालय हाकेँ। मेरो रगत र पसिनाले सिञ्चिएको त्यो विद्यालय आज पनि मेरो मुटुको एउटा कुना हो।
मेरा श्रीमान्को परिवार वि.सं. २०५४ सालमै बसाइँसराइ गरी धादिङकै ससाहमा आउनुभएको थियो। समयक्रमसँगै म पनि वि.सं. २०७१ सालमा साविक मैदीको वैष्णवी प्रा.वि. मा सरुवा भएर आएँ। पछि २०७५ साल मङ्सिर १७ गतेदेखि साविक मैदीकै अमरावती मा.वि. ज्वालामुखी गा पा ३ मा राहत शिक्षकको रूपमा निरन्तर अध्यापनमा जोडिएँ। शिक्षण सेवाका क्रममा मैले थुप्रै तालिमहरू लिएँ, आफूलाई प्रविधि र आधुनिक शिक्षण पद्धतिमा अब्बल र दक्ष शिक्षकको रूपमा प्रमाणित गरिरहेँ। मेरो लागि शिक्षण पेशा मात्र थिएन, मेरो निष्ठा र धर्म थियो।
समय बित्दै गयो। वि.सं. २०८१ साल वैशाख २५ गते मेरो छोरीको अष्ट्रेलियामा दीक्षान्त समारोह थियो। एउटा आमाका लागि यो जीवनकै सबैभन्दा ठूलो गर्वको क्षण थियो। म र मेरो श्रीमान् २०८१ वैशाख २२ गते अष्ट्रेलिया जाने तय भयो। जानुअघि वैशाख २० गते मैले विद्यालयमा नियमपूर्वक बिदाको निवेदन छोडेकी थिएँ। त्यतिबेला विद्यालय प्रशासन र तत्कालीन व्यवस्थापन समिति अध्यक्षले “यो एउटा आमाका लागि ठूलो अवसर हो, जानुस्” भनेर स्वीकृति र हौसला दिनुभएको थियो। तपाईं को सन्चित बिदा को रेकर्ड छदै छ , बिद्दालयमा थप शिक्षक पनि छ पठन पाठानमा कुनै बाधा पर्दैन हामी बिदा मिलाउछौ भन्नु भयो । तर, म अष्ट्रेलियाबाट फर्किँदा वर्षे बिदा भइसकेको र विद्यालय खुलेपछि हाजिर हुन जाँदा कागजमा बिदा अलि लामो देखिन पुग्यो। बस, यही बहाना मेरो विरुद्धमा षड्यन्त्र बुन्ने एउटा हतियार बन्यो।
कच्ची बाटोको सास्ती, षड्यन्त्र र कानुनी लडाइँ
म फर्किएर आएपछि विद्यालय नियमित गइरहेँ, पढाइरहेँ। तर, विद्यालयभित्र कथित सहायक प्र.अ. भनाउँदा र प्र.अ. बीचको आन्तरिक टसलको शिकार मलाई बनाइयो। रिसिइबी र प्रतिशोध साध्नका लागि मेरो बिदा र हाजिरीलाई लिएर विभिन्न निकायमा उजुरी हालियो। परिणामस्वरुप मेरो तलब रोकियो। तर पनि म विचलित भइनँ। विद्यालय र विद्यार्थीको भविष्य सम्झेर मैले १४ महिनासम्म बिना तलब निरन्तर पढाएँ। त्यो १४ महिना मेरो लागि अग्निपरिक्षा जस्तै थियो। ११ किलोमिटरको हिलो, धुलो र खाल्डैखाल्डा भएको कच्ची बाटोमा आफैँ स्कुटरमा म दिनहुँ विद्यालय पुग्थेँ र आफ्नै पैसाले खाजा खान्थेँ। यसबीचमा ज्वालामुखी गाउँपालिकाबाट मेरो नाममा ४ महिनाको तलब भत्ता निकासी हुँदा समेत विद्यालयले मलाई दिएन, रोकेर राख्यो।
राजनीतिक दबाब र इबी कति क्रुर हुन्छ भने, २०८२ साल वैशाख १८ गते मलाई कुनै जानकारी र स्पष्टीकरण बिना सिधै ‘अवकास पत्र’ थमाइयो। त्यो दिन मेरो वर्षौँको सेवाको मूल्य कसैले एक थान कागजको टुक्रामा सीमित गरिदियो। म अन्याय सहेर मौन बस्न सक्थेँ, तर मेरा श्रीमान्को ओत र भरोसाले मैले सम्मानित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेँ र ९ महिनासम्म न्यायका लागि लडेँ।
यो ४ वर्षको अवधिमा पालिकामा ५ जना हाकिम (प्रमुख प्रशासकीय अधिकृत) फेरिए। यही प्रशासनिक अस्थिरताको फाइदा उठाउँदै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्ना नजिकका मान्छे भर्ती गर्न कतिसम्म हतारो गरे भने, मलाई अवकाश दिएर मेरो दरबन्दी नै ज्वालामुखी गाउँपालिकाकै सालवास आधारभूत विद्यालयमा सारेर त्यहाँ आफ्नो मान्छे नियुक्ति गरिहाले। यदि मलाई अवकाश दिएर दरबन्दी नसारेको भए मेरो सेवा आज पनि निरन्तर रहने थियो।
अदालतमा षड्यन्त्रको प्रतिउत्तर र न्यायको जित
मुद्दा चल्दै गर्दा ज्वालामुखी गाउँपालिकाको तर्फबाट अदालतमा प्रतिउत्तर पत्र (Writ Response) पेस गर्ने क्रममा अर्को एउटा कुरुप चलखेल भयो। गाउँपालिकाको न्यायिक समितिमा दोहोरो सुविधा (पेन्सन र सरकारी तलब दुवै) भोग गरेर बसेका एक कर्मचारी, जो स्वयम् शिक्षक पेशाबाटै निवृत्त भएका व्यक्ति हुन्, उनले गाउँपालिकाको प्रतिउत्तरमा “यिनलाई सेवा निरन्तरता पनि दिनु हुँदैन र तलब भत्ता पनि दिन मिल्दैन” भनी कडा जिकिर तयार पारेर अदालतमा पेस गर्न लगाएका थिए। आफैँ हिजो शिक्षक भएर आएको मान्छेले एउटी पीडित महिला शिक्षकको पक्षमा बोल्नुको साटो अन्यायको मतियार बनेको देख्दा मलाई अचम्म लाग्यो।
तर, सत्यलाई जति नै दबाउन खोजे पनि न्याय मर्दैन। अन्ततः, सम्मानित उच्च अदालतले गाउँपालिकाको त्यो गलत जिकिरलाई खारेज गर्दै मेरो पक्षमा करिब ६० प्रतिशत फैसला सुनायो र मैले हाजिर भएको दिनसम्मको तलब भत्ता पाउने आदेश दियो।
अदालतको फैसला आएपछि म वर्तमान प्रमुख प्रशासकीय अधिकृत (हाकिम) लाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँको सकारात्मक अग्रसरता, न्यायप्रेमी सोच र निष्पक्षताका कारण कसैको दबाब वा राजनीतिक झमेला नमानी सम्मानित अदालतको फैसला समयमै कार्यान्वयन भयो ।
यो न्यायको लडाइँ लड्दै गर्दा मैले एउटा तितो कुरा महसुस गरेँ– यहाँ सिद्धान्तका कुरा गर्ने राजनीतिक दल र शिक्षक हकहितका कुरा गर्ने संघ–संगठनहरू कसैले पनि मलाई साथ दिएनन्। स्थानीय तहहरूले आफूखुशी नियम-कानुन बनाएर कति धेरै शिक्षकहरूलाई मर्कामा पारेका छन्, त्यसको लेखाजोखा छैन। शिक्षकहरूको यत्रो लामो आन्दोलन भयो, तर हाम्रा शिक्षक नेताहरू केवल आफू अनुकुल मात्र कानुनको व्याख्या गर्छन्। समग्र शिक्षा प्रणाली र पीडित शिक्षकको पक्षमा ठोस धारणा नल्याएका कारण आज म जस्ता थुप्रै शिक्षकहरू मर्कामा परेका छन्।
प्रधानाध्यापकमा सही निर्णय गर्ने क्षमता नहुनु, तत्कालिन शिक्षा अधिकृतले व्यवस्थापन गर्न नसक्नु, जनप्रतिनिधिहरूमा आफ्ना मान्छे मात्र भर्ती गर्ने लालसा हुनु र अरूको प्रगतिमा डाह गर्ने प्रवृत्ति हाबी हुनु जस्ता कारणहरूले गर्दा मैले आफ्नो प्रिय शिक्षण सेवाको इच्छालाई सधैँका लागि बिट मार्नु पर्यो।
म त सक्षम थिएँ, परिवारको बलियो साथ थियो र कानुनी लडाइँ लडेर आफ्नो निष्कलंक चरित्र प्रमाणित गरेर बाहिरिएँ। अहिले मैले आफ्नै व्यवसाय सुरु गरिसकेकी छु र म यसैमा खुसी छु। तर, मभन्दा कमजोर आर्थिक वा पारिवारिक पृष्ठभूमि भएका अन्य सोझा र इमानदार शिक्षकहरूमाथि स्थानीय सरकार र विद्यालय प्रशासनले यस्तो अन्याय कहिल्यै गर्न नसकोस्। शिक्षा मन्दिरलाई राजनीतिक भर्तीकेन्द्र र व्यक्तिगत रिसिइबी साध्ने अखडा बनाउन बन्द गरियोस्। मेरो सेवा अवधिको वास्तविक मूल्यांकन भगवान र मेरा प्यारा विद्यार्थीहरूले अवश्य गर्नेछन्। धन्यवाद !






