धादिङ, साउन १३ ,२०८३
गुरु पूर्णिमा, व्यास जयन्ती, २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवसको अवसरमा धादिङबेसीमा शिक्षक सम्मान तथा ‘प्रज्ञा–वर्तिका’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल निवृत्त शिक्षक समाज धादिङ जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष केशरीप्रसाद पन्तले गर्नुभएको थियो। कार्यक्रममा संविधान सभा सदस्य पुष्पबिक्रम मल्ल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने बागमती प्रदेश सभा सदस्य गोविन्दप्रसाद लम्साल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, निवृत्त शिक्षक, शिक्षाप्रेमी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका निवृत्त शिक्षकहरूलाई सम्मान गरिएको थियो। साथै, नेपाल निवृत्त शिक्षक समाज धादिङद्वारा प्रकाशित ‘प्रज्ञा–वर्तिका’ नामक स्मारिकाको औपचारिक लोकार्पण पनि गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुष्पबिक्रम मल्लले शिक्षकको योगदान राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै शिक्षकको अनुभव र ज्ञान भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो। विशेष अतिथि गोविन्दप्रसाद लम्सालले निवृत्त शिक्षकहरूको बौद्धिक क्षमता र अनुभवलाई समाज विकास तथा शैक्षिक सुधारमा अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम सम्मान, शुभकामना आदानप्रदान तथा ‘प्रज्ञा–वर्तिका’ लोकार्पणसँगै सम्पन्न भएको आयोजकले जनाएको छ।






