धादिङ, साउन १३ ,२०८३
बागमती प्रदेश सरकारको निर्णयअनुसार धादिङस्थित साविकको उद्योग तथा वाणिज्य कार्यालयको नाम परिवर्तन गरी उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय बनाइए पनि पर्यटन तथा यातायातसँग सम्बन्धित सेवा भने तत्काल सञ्चालन नहुने भएको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै मन्त्रालयबाट आवश्यक संगठन संरचना, दरबन्दी तथा कर्मचारी व्यवस्थापनसम्बन्धी लिखित आदेश प्राप्त नभएसम्म पर्यटन तथा यातायाततर्फका नयाँ सेवा सञ्चालन गर्न नसकिने जनाएको हो।
कार्यालय प्रमुखद्वारा हस्ताक्षरित सूचनाअनुसार बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णयपछि २०८३ साउन १ गतेदेखि कार्यालयको नाम परिवर्तन गरिएको हो। तर, उद्योग तथा वाण्यिज्य कार्यालयमा थपिएको पर्यटन तथा यातायात क्षेत्रको कामका लागि आवश्यक जनशक्ति र प्रशासनिक व्यवस्था अझै पूरा नभएकाले हाललाई साविकका उद्योग तथा वाणिज्यसम्बन्धी सेवामात्र नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ।
यससँगै कार्यालयको बोर्ड फेरिए पनि सेवा भने पुरानै अवस्थामा रहेको स्पष्ट भएको छ। नयाँ नामअनुसार सेवा लिन आउने सेवाग्राहीले पर्यटन तथा यातायातसम्बन्धी काम तत्काल गर्न नपाउने भएकाले केही समय पर्खनुपर्ने अवस्था सिर्जना भएको छ।
कार्यालयले मन्त्रालयबाट आवश्यक निर्देशन र व्यवस्था भएपछि मात्रै पर्यटन तथा यातायातसम्बन्धी सेवा सञ्चालन गरिने जनाएको छ। त्यसबेलासम्म उद्योग तथा वाणिज्यसम्बन्धी सेवा भने यथावत् सञ्चालन हुने सूचनामा उल्लेख छ।






