कृष्ण बद्री पौडेल (स्वास्थ्यकर्मी)
समयको गतिसँगै प्रविधि, सुविधा र भूगोलहरू बदलिए, तर स्मृतिहरू कहिल्यै पुराना नहुँदा रहेछन्। आजभन्दा झन्डै २८ वर्षअघि, अर्थात् २०५४ सालको माघ महिना, भर्खरै अहेव (AHW) को पढाई सकेर सरकारी स्वास्थ्य सेवामा पाइला टेक्दाको त्यो जोस र उमङ्ग हिजो जस्तै लाग्छ। मेरो पहिलो सरकारी सेवा थियो- साविकको रि गाउँ विकास समिति (रि गा.वि.स.), धादिङमा।
त्यतिबेला धादिङबेसी सदरमुकामबाट रि गाउँ पुग्न १३ कोषको पैदल दुरी पार गर्नुपर्थ्यो। आज किलोमिटरमा हिसाब गर्दा त्यो झन्डै ५२/५३ किलोमिटर हुन आउँछ। बाटोघाटोको सुविधा नहुँदा उकाली-ओराली र भिरपाखा गर्दै झन्डै १२ देखि १३ घण्टा निरन्तर हिँडेपछि मात्र कार्यक्षेत्रमा पुगिन्थ्यो। म भर्खरको ठिटो, किताबी ज्ञान बोकेर ‘रि उप-स्वास्थ्य चौकी’ प्रमुखको जिम्मेवारी सम्हाल्न त्यहाँ पुगेको थिएँ।
नेपालमा २०४७ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा नेपाली कांग्रेसको एकमना बहुमतको सरकार गठन भएको थियो। सो सरकारले ‘प्रत्येक गा.वि.स.मा कम्तीमा एक स्वास्थ्य संस्था स्थापना गर्ने’ एउटा ऐतिहासिक नीति ल्याएको रहेछ। सोही नीति अनुरूप २०४९ सालमा ‘रि उप-स्वास्थ्य चौकी’ स्थापना भएको थियो। म २०५४ /१०/२९ मा त्यहाँ पुग्दा संस्था स्थापना भएको ५ वर्ष भइसकेको थियो।
भर्खर पढाइ सकेर गएको मलाई प्रशासनिक कामकारबाही, चिठीपत्र र कार्यालय सञ्चालनको खासै व्यावहारिक ज्ञान थिएन। तर, त्यहाँ कार्यरत ग्रामीण स्वास्थ्य कार्यकर्ता (ग्रा.स्वा.का.) कुल रत्न शाक्य दाइ मेरा लागि मार्गदर्शक बन्नुभयो। उमेरले म सानो भए पनि उहाँले मलाई कहिले ‘भाइ’ त कहिले ‘सर’ भन्दै सम्मान र मायाका साथ कार्यालयका हरेक प्रशासनिक कुराहरू सिकाउनुभयो। उहाँको त्यो निष्कपट सहयोग मेरो करियरको बलियो जग बन्यो।
म स्वास्थ्य सेवामा लाग्नुको पछाडि मेरो आफ्नै इच्छा मात्र थिएन, बुबाको ठुलो प्रेरणा र आशीर्वाद थियो। दुई वर्ष वैदेशिक रोजगारीको सिलसिलामा विदेश बसेर फर्किएपछि मलाई बुबाले भन्नुभएको थियो, “जसरी पनि स्वास्थ्य पेसामा लागेर घरपरिवार र अन्य नागरिकको सेवा गर्नुपर्छ।” आमाबुबाको त्यही वचनलाई शिरोधार्य गर्दै म अहोरात्र सेवामा खटिएँ। आज मेरा तिनै पूजनीय बुबा ९० वसन्त पार र पूजनीय आमा ८२ वर्ष को हुनु हुन्छ , उहाहरुलाई थोरै पनि स्वास्थ्य समस्या हुँदा आफैँले औषधि ल्याएर खुवाउन पाउँदा र उहाहरुको सेवा गर्न पाउँदा मनमा अगाध सन्तोष हुन्छ ।
चार वर्षको त्यो बसाईंमा मैले रि गा.वि.स.को सायदै कुनै पनि बस्ती छोडिन होला। सल्लेरी, दोरोङ्ग, रि गाउँ, कुताल, स्याक्तली, तावल, धुसेनी, चोके, ईबी, रिचेत, ताजिम्राङ, किचेत, र आन्द्राङ जस्ता विकट बस्तीहरूमा पुगेर कयौँ रात बिरामीकै घरमा बास बसेको छु।
त्यो चार वर्षमा मैले हजारौँ बिरामीको उपचार गरेँ र सयौँको ज्यान बचाउन सकेँ। त्यो मेरो पद, जिम्मेवारी र कर्तव्य नै थियो। तर, आजको जस्तो न त त्यहाँ ल्याब (Lab) थियो, न एक्स-रे (X-Ray) मेसिन। बिरामीको लक्षण (Symptoms) र शारीरिक चिन्ह (Signs) हेरेकै भरमा रोग पत्ता लगाएर औषधि दिनुपर्थ्यो। अहिलेको जस्तो उच्च कोटी र धेरै प्रकारका औषधिहरू पनि हुँदैनथे। तर अचम्म, त्यतिबेला थोरै र साधारण औषधिले पनि बिरामीहरू निको हुन्थे।
गाउँको त्यो परिवेश निकै कारुणिक र भावनात्मक हुन्थ्यो। राति बिरामी जाँच्न जाँदा औषधि खाएपछि बिरामी चुपचाप भयो भने आफन्तका अनुहारमा खुसीको सीमा हुँदैनथ्यो। तर बिरामी अलि बढी च्यापियो भने घरभरि रुवाबासी चल्थ्यो। हामी जम्मा ४ जनाको स्टाफ थियौँ। विकट ठाउँ, साँघुरो र अप्ठ्यारो बाटो भएकाले बिरामीलाई स्वास्थ्य चौकीसम्म बोकेर ल्याउन धेरै मानिस चाहिन्थ्यो। त्यसैले, बिरामी बोकेर ल्याउनुभन्दा स्वास्थ्यकर्मी आफैँ घर वा गोठमा पुग्नु सहज हुन्थ्यो। म रात-बिरात नभनी गोठ र घर-घरमा पुगेर सेवा गर्थेँ। मैले खोप सेवा र गाउँघर क्लिनिकलाई दूरदराजका बस्तीहरूसम्म विस्तार गरेँ।
मृत्युको मुखबाट खोसिएको त्यो एउटा बालकको जीवन
ती हजारौँ उपचारका बिच एउटा घटना भने आज पनि मेरो मानसपटलमा हिजो जस्तै ताजा भएर आउँछ। एकदिन एउटा १०/११ वर्षको बालक भेडाबाख्रा चराउन जाँदा ‘अकाशमाथ भीर’ बाट लडेछ। शरीरभरि चोटैचोट र रगतै-रगत भएर रगत्ताम्मे अवस्थामा आफन्तहरूले उसलाई स्वास्थ्य चौकीमा ल्याए। बालक पूर्ण रूपमा बेहोस (Unconscious) थियो।
हामीसँग आधुनिक साधन-स्रोत केही थिएन। मैले बालकको गम्भीर अवस्था सरसर्ती हेरेर आफन्तहरूलाई भनेँ, “यो अवस्था निकै नाजुक छ, यहाँ उपचार हुन गाह्रो हुन सक्छ। तपाईंहरू यसलाई तुरुन्तै धादिङबेसी वा खहरे लैजानुस्।”
तर बालकका आफन्तहरूले मान्दै मानेनन्। उनीहरूले अनुनय-विनय गरे, “हाम्रो बच्चा त बाटोमै मर्न सकछ डाक्टर साब लैजान सक्ने अवस्थै छैन। जे हुन्छ, यहीँ हुन्छ, तपाईंले यहीँ उपचार सुरु गरिदिनुस्।” ( गाउघरमा हामीलाई अहिले पनि डाक्टर नै भन्छन )
हो पनि, रगत धेरै बगेका कारण बच्चा ‘हाइपोभोलामिक शक’ (Hypovolemic Shock) मा गइसकेको जस्तो देखिन्थ्यो। कति पनि ढिला नगरी मैले बिरामी पक्षको अनुमति लिएर जोखिम मोल्दै उपचार सुरु गरेँ। कार्यालय सहयोगी (तत्कालीन समयमा पियन भनिन्थ्यो) धन बहादुर तामाङ र म मिलेर सबैभन्दा पहिला बालकको ‘भेन ओपन’ (Vein Open) गर्यौँ र स्लाइन दियौँ। बिरामी बेहोस नै भएकाले उसलाई लठ्याउने औषधि (Local Anesthesia) दिइरहनु पनि परेन। शरीरको धेरै भागमा गहिरा चोटहरू थिए। हामीले निकै लामो समय लगाएर ती घाउहरू सिलायौँ।
त्यो रात हाम्रा लागि निकै लामो र परीक्षाको रात थियो। धन बहादुर र म रातभर पालैपालो सुत्दै, ब्युँझिँदै बालकको अवस्था नियालेर बसिरह्यौँ। भोलिपल्ट बिहान साढे आठ बजेतिर बालकले बिस्तारै आँखा खोल्यो र केही रेस्पोन्स (Response) गर्यो। हाम्रो छटपटी अलि शान्त भयो। बिहान १० बजेतिर त ऊ पूर्ण रूपमा होसमा आयो। मृत्युको मुखमा पुगेको बालक होसमा आउँदा हामी स्वास्थ्यकर्मी र उसका आफन्तहरूको खुसीको सीमा रहेन। त्यो साँझ हामीले उसलाई सकुशल घर पठायौँ।
समय बदलियो, म रि गाउँबाट अन्यत्र सरुवा भएँ। तर यो कथाको सुखद अन्त २०७५ सालमा भयो। तत्कालीन रि गा.वि.स. हालको गङ्गाजमुना गाउँपालिका वडा नं. १ र २ मा एउटा स्वास्थ्य कार्यक्रमको सिलसिलामा म त्यहाँ पुगेको थिएँ। त्यहाँ संयोगवश तिनै बालक (जो अहिले युवा भइसकेका थिए) सँग मेरो भेट भयो। उनको निधारमा त्यतिबेला सिलाएको घाउको खत (Scar) अझै प्रस्ट देखिन्थ्यो। उनीसँग पुराना कुराहरू गर्दै सामान्य भलाकुसारी गरेर म फर्किएँ। एउटा स्वास्थ्यकर्मीका लागि योभन्दा ठुलो आत्मसन्तुष्टि अर्को के हुन सक्छ र?
म साविकको दार्खा गाविसमा जन्मिएकाले तामाङ भाषा राम्रो बोल्न सक्थेँ। तर रि गाउँको तामाङ भाषा अलि फरक (स्थानीय भाषिका) थियो। सुरुमा केही असजिलो भए पनि स्थानीयहरूसँग भिज्दै जाँदा केही महिनामै मैले त्यहाँको भाषा राम्रोसँग बुझ्ने र बोल्ने भएँ। जब म उनीहरूकै भाषामा दुःख-बिमार सोधपुछ गर्न थालेँ, तब स्थानीय बासिन्दासँग मेरो अपनत्व झन् प्रगाढ भयो। भाषाकै कारण उनीहरूले मलाई अगाध माया र सम्मान दिए, जसले मेरो काम गर्ने हौसला झन् बढायो।
रि गाउँसँग तीनै भाइको त्रिकोणात्मक नाता पनि रहेको छ ।
रि गाउँसँग मेरो मात्र होइन, हाम्रो सिंगो परिवारको एउटा ऐतिहासिक र भावनात्मक सम्बन्ध जोडिएको थियो। मेरो जेठो दाइ गणेश पौडेलले २०४२ सालमा रि को तावलस्थित ‘पासाङचोक प्रा.वि.’ बाट आफ्नो शिक्षण जागिर सुरु गर्नुभएको थियो। त्यतिबेला उहाँ हालका गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामाको घरमा बस्नुभएको थियो। त्यस्तै, मेरो भाइ केदार पौडेलले पनि रि कै तावलका चन्द्र तामाङसँग मिलेर व्यवसाय सुरु गरेको थियो। यसरी हामी तीनै भाइको पेसा, व्यवसाय र भावना रिको माटोसँग जोडिएको थियो ।
यसै क्रममा, २०५६ साल पौष १८ गते मेरो जीवनमा एउटा खुसीको क्षण आयो— म अहेव पदमा स्थायी भएँ। स्थायी भएपछि नियमअनुसार सरुवा तथा पदस्थापना भएर अन्यत्र जान खोज्दा धादिङ जिल्लाका १९ वटा स्वास्थ्य संस्थाहरूमध्ये मैले रोजेर अन्यत्र जान पाउने अवसर थियो। मेरो घर धादिङ ससाहमा र परिवार धादिङबेसी बस्ने भएकाले म पायक पर्ने ठाउँमा जान चाहन्थेँ।
तर, हामीसँग पारिवारिक जस्तै नाता भएका भक्त लामाले मलाई अन्यत्र जानै दिएनन्। उनले मायालु शैलीमा रोक्दै भने, “अस्थायी हुँदा हामीकहाँ बस्ने, अनि स्थायी भएर जाने? अन्त जान पाइँदैन।” रि गाउँसँग हाम्रो परिवारको गहिरो गुन र सम्बन्ध भएकाले मैले䀘को त्यो आत्मीय भनाइलाई काट्न सकिनँ र स्थायी भएपछि पनि केही समय त्यहीँ बसेर सेवा गरिरहेँ।
द्वन्द्वको छाया र मुरलीभञ्ज्याङतर्फको प्रस्थान
समय सधैँ एकनास रहेन। २०५२ सालबाट देशमा सशस्त्र जनयुद्ध सुरु भइसकेको थियो। २०५७ सालतिर आइपुग्दा रि गाउँ क्षेत्रमा पनि छिटफुट रूपमा माओवादी कार्यकर्ताहरू देखा पर्न थाले र चन्दाका कुराहरू उठ्न थाले। अर्कोतिर मेरो आफ्नै व्यावहारिक समस्या पनि थपिँदै थियो— महिनापिच्छे तलब लिन, विभिन्न प्रशासनिक काम, तालिम तथा गोष्ठीका लागि धादिङबेसी झरिरहनुपर्ने बाध्यता थियो। विकटता र पारिवारिक दूरीका कारण म सदरमुकाम नजिकै आउन चाहन्थेँ, तर ठाउँ खाली थिएन।
संयोगवश, २०५८ सालमा मुरलीभञ्ज्याङ उप-स्वास्थ्य चौकीका प्रमुख महाबीर यादवको सरुवा भयो। त्यसपछि मेरो अनुकूलता मिल्यो र म २०५८ साल श्रावण ५ गतेदेखि मुरलीभञ्ज्याङ उप-स्वास्थ्य चौकीको प्रमुख भएर आएँ। यसरी रि गाउँको त्यो सुखद, संघर्षपूर्ण र ऐतिहासिक ४ वर्षे अध्याय पूरा भई मेरो सेवाको नयाँ यात्रा सुरु भयो।
निष्कर्ष
रि गाउँका ती डाँडापाखा, त्यहाँका सरल र निश्छल मानिसहरू, कुल रत्न शाक्य दाइको साथ, धन बहादुरको त्यो सहकार्य र लालटिनको उज्यालोमा गरिएका उपचारहरू आज मेरो जीवनका सबैभन्दा ठुला सम्पत्ति हुन्। भौतिक रूपमा आज स्वास्थ्य क्षेत्र धेरै आधुनिक भएको छ, तर सीमित साधन-स्रोतका बिच आत्मीयता र मानवीय भावनाले भरिएर सेवा गरेको त्यो कालखण्ड मेरो हृदयमा सधैँ स्वर्ण अक्षरमा कोरिइरहनेछ।






