अ्मित पौडेल , धादिङ बेसी ,  २८ जेष्ठ २०८३

बागमती प्रदेश सरकारको सहयोग तथा बागमती प्रदेश सरकारका मन्त्री शिवराज अधिकारीको विशेष पहलमा धादिङको नीलकण्ठ नगरपालिका–८ साघुटारमा  सवारी निगरानी  आधुनिक  तथा ट्र्याकिङ प्रणाली जडान गरिएको छ।

धादिङबेसी भित्रिने तथा बाहिरिने प्रमुख नाकामध्ये एक मानिने साघुटारमा जडान गरिएको उक्त प्रणालीले जिल्लाको सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। प्राविधिक टोलीले सडकमाथि रहेको पोलको तेर्सो बीममा अत्याधुनिक निगरानी क्यामेरा तथा सेन्सरहरू जडान गरेको छ। जडान कार्यका क्रममा ट्राफिक प्रहरी तथा स्थानीयवासीहरूको समेत उपस्थिति रहेको थियो।

जडान गरिएको प्रणालीमार्फत धादिङबेसी भित्रिने तथा बाहिरिने सवारीसाधनहरूको आवतजावत, गति तथा गतिविधिको २४सै घण्टा निगरानी गर्न सकिनेछ। यसले सवारी ट्र्याकिङ, गति मापन तथा आवश्यक तथ्याङ्क संकलनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

त्यसैगरी, प्रविधिमैत्री सुरक्षा व्यवस्थापनमार्फत सम्भावित आपराधिक तथा अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सवारी दुर्घटना, चोरी वा अन्य घटना घटेको अवस्थामा सुरक्षा निकायलाई आवश्यक सूचना तथा प्रमाण तत्काल प्राप्त गर्न सहज हुने जनाइएको छ। साथै मुख्य नाकामा हुने सवारी चाप व्यवस्थापन, ट्राफिक नियम कार्यान्वयन तथा सडक सुरक्षालाई थप सुदृढ बनाउन पनि यो प्रणाली उपयोगी हुने बताइएको छ।

नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले साघुटारमा आधुनिक निगरानी प्रणाली जडानका लागि प्रदेश सरकारसँग आवश्यक पहल गरेको उल्लेख गर्दै योजना कार्यान्वयनमा सहयोग पुर्‍याउने बागमती प्रदेश सरकार तथा मन्त्री शिवराज अधिकारीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले यस प्रणालीले वडा तथा जिल्लाको सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

साघुटार धादिङबेसी प्रवेश तथा बाहिरिने प्रमुख नाका भएकाले यहाँ आधुनिक निगरानी प्रणाली जडान हुनुलाई स्थानीयवासी तथा जनप्रतिनिधिहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। लामो समयदेखि उठ्दै आएको माग सम्बोधन भएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्।

यस प्रणाली सञ्चालनमा आएसँगै धादिङमा प्रविधिमा आधारित सुरक्षा निगरानीको दायरा थप विस्तार भएको छ। यसले जिल्लाको समग्र सुरक्षा व्यवस्थापन, सार्वजनिक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0