बिश्वास सिलवाल , धादिङ , ३० जेठ २०८३
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने नलाङ–बैरेनी–अर्चले–ठाटी सडकखण्डमा कालोपत्रे (पिच) कार्यका लागि बेस ओछ्याउने काम भइरहेको छ। निर्माण कार्यलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न उक्त सडकखण्डमा सवारी साधन सञ्चालन तथा सर्वसाधारणको आवतजावत अस्थायी रूपमा बन्द गरिएको छ।
सिद्धलेक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पेमा वाङ्गेल लामा का अनुसार सडक स्तरोन्नति तथा कालोपत्रे कार्य तीव्र रूपमा अघि बढिरहेको छ। निर्माण कार्य सम्पन्न नभएसम्म सर्वसाधारणलाई उक्त सडक प्रयोग नगरी वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो।
यात्रु तथा सवारी चालकहरूलाई अर्चले–लामोघर हुँदै बलमडाँडा–ठाटी वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। निर्माण कार्य सकेसम्म छिटो सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।
स्थानीयवासी तथा यात्रुहरूलाई निर्माण कार्यमा सहयोग पुर्याउन र सुरक्षाको दृष्टिले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित पक्षले अनुरोध गरेको छ।






