बिश्वास सिलवाल , धादिङ बेसी , जेठ ३१ ,२०८३
नीलकण्ठ बहुमुखी क्याम्पस ले आयोजना गरेको १५ दिने उद्घोषण तथा सञ्चार सीप प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जेठ ५ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त तालिममा २५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
विद्यार्थीहरूमा प्रभावकारी सञ्चार क्षमता, उद्घोषण कला, सार्वजनिक वक्तृत्व तथा नेतृत्व सीपको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षणमा सहभागीहरूले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए।
समापन कार्यक्रममा भीमप्रसाद ढुङ्गाना को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले यस्ता सीपमूलक तालिमहरूले युवाहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भविष्यमा इच्छुक विद्यार्थीहरूका लागि पुनः यस्तै कार्यक्रम सञ्चालन गरिने तथा अझ उन्नत (एडभान्स) स्तरको प्रशिक्षणसमेत निःशुल्क रूपमा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी क्याम्पस प्रमुख डा मुरारी अधिकारी विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नभई व्यवहारिक तथा जीवनोपयोगी सीप प्रदान गर्न क्याम्पस निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र अनुभवले आफ्नो आत्मविश्वास, प्रस्तुतीकरण क्षमता तथा सञ्चार सीपमा उल्लेखनीय सुधार आएको प्रतिक्रिया दिएका थिए। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
नीलकण्ठ बहुमुखी क्याम्पसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै शैक्षिक गतिविधिसँगै विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।






