राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पाद मुल्यांकन धादिङमा नेत्रावती डवजाेङ गाउँपालिका उत्कृष्ट भई जिल्लामा प्रथम हुन सफल भएको छ ।
धादिङ जिल्लाको १३ वटा स्थानिय तह मध्ये कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको हो ।
कार्यसम्पादन मुल्यांकनमा धादिङकाे सिद्धलेक गाउँपालिका दोस्रो र निलकण्ठ नगरपालिका तेस्रो हुन सफल भएको छ । आयोगको प्रतिवेदन अनुसार सिद्धलेक गाउँपालिकाले ४८.६० र नीलकण्ठ नगरपालिकाले ४४.०० अंक प्राप्त गरेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्यांकन अनुसार देशभरिका पालिका मध्ये छैटौँ स्थानमा नेत्रावती डवजोङ रहेकाे छ ।
आगामी आ.व. २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको छ ।
आयोगले स्थानिय तहले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ ।
१० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायतका आधारमा मूल्याकंन गरिन्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।
आयोगले फागुन ८ गते प्रकाशित गरेकाे कार्यसम्पादन मुल्यांकनमा धादिङको गंगाजमुना गाउँपालिकाले ३५.९६ नम्बर हासिल गरि जिल्लामा चौथो स्थान प्राप्त गरेकाे छ भने, बेनिघाट रोराङ गाउँपालिकाले ३३.०३, त्रिपुरासुन्दरी गाउँपालिकाले ३२.८९, खनियाबास गाउँपालिकाले ३२.३९, ज्वालामुखी गाउँपालिकाले २८.२५ अंक प्राप्त गरेका छन् ।
त्यसैगरि थाक्रे गाउँपालिकाले २६.६७, गजुरी गाउँपालिकाले २६.१८, धुनिबेशी नगरपालिकाले २५.८८, गल्छी गाउँपालिकाले २४.७७, रुवीभ्याली गाउँपालिकाले २३.६५ अंक प्राप्त गरेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा धादिङकाे नेत्रावती डवजाेङ गाउँपालिका धादिङकै उत्कृष्ठ हुनुमा त्यहाँका जनप्रतिनिधि, पालिकामा कार्यरत कर्मचारी लगायत आफ्नाे पनि महत्वपुर्ण याेगदान रहेकाे तत्कालिन स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर पाैडेल (वद्रि) ले बताउनुभयाे ।






