हिजो आज लेखन शैली प्रति मन दोधारमा छ । कहिले काँही कलम चलाउन मन लाग्छ किनकी लेख्ने बानीले भाषामा शुद्धता आउछ बिचारमा निखारता आउछ । गुम्सिएको मन आनन्दित हुन्छ । विचार आदान प्रदान हुन्छ ,आदि इत्यादी । फेरी आर्को मनले भन्ले भन्छ लेख्ने किन ? यहाँ फेरी पाठकलाई पढ्ने धैर्यता छैन् । अरुको विचार किन पढ्ने ? बरु रंगिन अर्धनग्न तस्विरहरु छापिए स्यावास आउलान् टिका टिप्पणी होला तर मेरो लेख उपर न त टिका टिप्पणी आउने न त स्यावास नै खोलामा बग्दै गरेको पात जस्तै । अनि तपाई नै भन्नुहोस किन लेख्ने ?
कसैले पढे पनि नपढे पनि आज मलाई आफ्नै भोगाईहरु लेख मार्फत पाठक समक्ष पस्कन मन लाग्यो । यो मेरो नितान्त व्यक्तिगत आत्मा सन्तुष्टीको कुरा हो । कसैले कमेन्ट गरोस् या नगरोस त्यो सरोकारको बिषय पनि होईन ।
जीवन एक चक्र हो जस्तो लाग्छ । जन्मनु बढ्नु यौवना अवस्थामा पुग्नु गृहस्थी अवस्थाबाट बुढ्यौली हुदै मृत्यु वरण गर्नु । यी सबै जीवनको चक्र हो । यसलाई ठाउ बिशेष जाती बिशेष धर्म बिशेष संस्कार बिशेष केही सामाजिक वन्धनहरु बनाईएका हुन्छन् त्यही सामाजिक वन्धनहरु हाम्रा सामाजिक संस्कार हन् । परम्परा हुन् । पुर्खा देखी चली आएको हुन् । यसरी जन्म देखी मृत्यु वरणसम्म हाम्रो आफ्नै जातिय संस्कारहरु छन् । प्रचलनहरु छन् । यो पनि एक खालको अलिखित संविधान नै हो । जो राज्य जारी नभै सामाज द्धारा जारी गरिएको हुन्छ ।
म धेरै पटक सामाजिक संस्कारहरुमा संलग्न भएको छु । गाउमा बस्ने सामाजिक प्राणी भएकोले प्राय बषैपिच्छे हुने शुभकार्य जस्तो पाश्नी, व्रतवन्ध, चुडाकर्म , पूजा आजा र शुभ विवाहका कार्यक्रमहरुमा सहभागी हुदै आएको छु । अरुहरुले आयोजना गरेको कार्यक्रमहरुमा सहभागीता हुदा रमाईलो नै लाग्छ । अतिथिको भुमिका बाहेक त्यहाँ अरु खासै केही हुदैन् । तर यस पटक म आफैले छोराको विवाह गर्ने समय आएछ । समय आएपछि कसैले रोक्न सक्दैन भन्दथे हो रहेछ । हाम्रो पनि त्यस्तै भयो । दुई पक्ष बिचको वार्ता चल्यो, छलफल भयो अनि कुरा टुङ्गियाे । विवाहको नव वर वधु प्रणयसुत्रमा बाँधिने कुरा को विवाहको मिति टुङ्गियाे। जन्तीको संख्या टुङ्गियाे जन्ती जाने र भोजखाने तिथि मिति र समय टुङ्गियाे । यसो बाहिर फेरो निस्कियो कुराको हुरी चल्छ । भोज भतेरमा गयो उही कुरा छ । चोकमा जम्मा भएका दाजुभाईहरुको पनि उही कुरा छ , छोराको बिहेको खसी कतिवटा काट्ने हो? मोटो बोसो भएको खसी काम छैन् । यसपालि त जन्ती पनि जाने हो ,जन्ती बाख्रो पनि खाने हो यस्तै यस्तै कुराहरू । आफुलाई भने विवाहको दिन जति नजिकिदै आउँछ उति अत्यास लाग्दो छ । अहिलेको विवाह लावा लस्कर लगाउदै जान कहाँ सजिलो छ र ? एक त खल्ती दरिलै हुनुपर्यो ,अर्को चलिआएको सामाविक संस्कार रितीरिवाजलाई बुझ्नु पर्यो । अनि सबै तह र तप्काका व्यक्तिहरुसंग समन्वय गर्न पनि सक्नु पर्यो । संगठन संचालनको सिद्धान्त ठ्याक्कै विवाह पद्दतीमा पनि लागु हुदोरहेछ । घरको जेठो वाठो हर्तकर्ता, टार्न पुर्याउने सबै आफै दुई दिन सम्म कापीमा योजना बनाए । अनुमानित खर्चको आंकलन गरे । साईपाटा स्वयंवरका सामाग्रीहरु टिपे । यस्तै यस्तै थुप्रै सुचिहरु बनाएँ । जन्ती खजन्तीको नामावली तयार गरें । आफ्ना र शुभचिन्तकहरुको नाम नामेशी उतारें । हजार भन्दा बढीको नाम आयो । अव कसरी व्यवस्थापन गर्ने? विनासित्ति मैले टाढा टाढाका आफन्त शुभ चिन्तकलाई किन दुःख दिने ? म दुविधामा परें ।
हुनत म प्रगतीशिल मान्छे नै हु । मलाई तडक भडक गरेको त्यति मन पर्दैन । धर्मको नाममा आडम्वरी ढोगीपन देखाएको राम्रो लाग्दैन । बरू दिन दुःखी गरिबलाई केही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । भोज भतेर र वाजागाजमा लाग्ने पैसा विद्यालयमा अक्षयकोष वनाई राख्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर हाम्रो सामाजले त्यस्ताे भन्दो रहेनछ । मैले त कुरा चलाएको पनि हो । तर कतैबाट पनि सकारात्मक जवाफ आएन । म परिवन्धमा परें , सामाजिक भुमरीमा परें । यसै ऋण उसै ऋण विस्तार विस्तार म मा जोश भरिदै गयो । बिचार उत्तेजित हुदै गयो ।सामाजमा छिमेकमा अरुले जे गरेका छन् त्यसमा कुने कमि नहुने गरी छोराको बिहे गर्ने निधो गरें । निमन्त्रणा कार्ड पनि छापें दिउसो दिउसो धादिङ बजार पनि चर्हानै पर्यो , बिहान बेलुकी घरमा बसेर लिष्ट पनि तयार गर्ने काम पनि । गरगहना लत्ताकपडाको टिप्पणी उठाएं । दिदीबहिनी चेलीबेटीको संख्या पनि उतारें । छरछिमेकी आमा दिदी बहिनीको नाम उतारें । क्याटरीन देखी कुक सम्म बाजा देखी तरकारी खाध्यन्नसम्म सबैको टुङगो भयो । संख्या निर्धारण भयो । अव मैले छोराको बिहे गर्न कम्मर कसें । दिनहुं हामी बुढा बुढीको बिचमा विचार विर्मश हुन्थ्यो । निर्णय गर्न पनि हामीलाई सजिलो थियो । किनकी हामी बर्षाैदेखी दुई सदस्यमा मात्र घरमा सिमित थियौ ।
दिन बित्यो रात बित्यो । समयले कसलाई पो पर्खेको छ र ? शुभविवाहको दिन आयो । २०८० साल माघ १५ गते प्याकुरेल भिनाजुले नान्नी मुखी श्राद्ध गर्नुपर्छ भन्नुभयो । हामी त्यसैको तयारीमा लाग्यौ । वेहुला केटो पनि घर लाईपुग्यो । अव चाँही विवाहको चहलपहल हुनलागेछकी भन्ने लाग्यो । दिउसो ११ बजेवाट सुरु गरेको श्राद्ध बिधि र्तपणबिधि सक्न झन्डै ४ घन्टा लाग्यो । दिनको ३ बजेसम्म निराहार पानी पनि पिएको होईन् । छुटेको सामानहरु लिन बजार पनि जानुपर्ने लिङ्गाचौकाको दिन देखी भोजखाने सम्मको निम्ता पनि भन्न पठाउनु पर्ने, काम त कति हो कति ?
भोलि पल्ट १६ गते लिड्गापूजा गर्ने दिन तोरण ध्वोजा पतका टाँग्ने दिन लिङ्गाचौका गर्ने दिन अर्थात विवाहको अन्तिम तयारी । अनि हामी बुढाबुढी र बर केटालाई चाँही अर्कै धन्दा हुदो रहेछ । जग्यमा “ग्रहशान्ती” पूजा गर्नु पर्ने, चरु हवन गर्नु पर्ने , गोदान गर्नुपर्ने, भुरशी गर्नुपर्ने , पूजाको बिधि पनि कति हो कति ? तर गराउने कस्ले ? हाम्रा पंन्डित बाजेलाई त्यही दिन अन्यत्रै अर्काे विवाह सम्पन्न गर्नुपर्ने । हामी भने फेरी पनि दिनभर भोक भोकै बस्यौ । पुरेत पंन्डित आउदा साँझको ६ बजिसकेको थियो । मैले त भोकले गर्दा होला बतिको बल्व पनि जुनकीरी जस्तै देख्न थालेको थिएं । ग्रह शान्ति पूजा गर्न पनि कहाँ सजिलो रहेछ र ? सम्पन्न गर्दा रातको ९ः३० बजिसकेको थियो । म त हान्नीदै भान्सामा पसे । बाँदरले झै पाकोको के के छ साेेधनि नै नगरी खान थाले । भोक शान्त परेपछि बिछौनामा पल्टिए । उता भने कान्छो छोरा राजनको जन्मदिन पनि साेही दिन , बर्थ डे पार्टी , त्यस पछि वेहुला केटा सराेजकाे हल्दी कार्यक्रम , दिदी बहिनीहरु सबैजना तैयारीमा रहेछन् । म भने भोक र दिन भरको थकाईले चुर चुर भएको थिएं । रातकाे अबेर सम्म यज्ञमा बस्नु परेकाेले हल्दी कार्यक्रममा सहभागी संख्या कम भएछ , पछि बुझ्दा पुरेत बाले वित्यासै गनुभयो नि भन्दै थिए सहभागीहरू ।
माघ १७ गते बुधवार जन्ती जाने दिन, सबै कुराको चाँजो पाँजो गर्ने पर्यो । अतिथि संस्कार देखि बन्दोवस्ती को सामानहरु मिलाउने सम्मका सबै काम । आगनीमा बाजा बझ्न थालिसकेकाे थियाे । चेलीबेटीहरु छमछम नाँच्न थाले । म पनि दुलाहको “बा ” बन्दै दौरा सुरुवाल र कोटमा सजिएं । शीरको टोपी लगनउदा म मा रौनक बेग्लै थियो । दुई बर्ष अगाडी देखि जन्त जान भनी सिलाई राखेको कपडा हेर्दा त खुम्चै खुम्चा पो परेकाे रहेछ ! जे सुकै होस् आखिर म सम्धी नै हुँ क्यारे । चल्छ सरकार ! तन्याक तुनुक पारे र लगाएं ,दाैरा सुरूवाल , तै कसैको पनि मेरो पोशाक उपर त्यस दिन गहीरिएर नजर परेन छ ,धन्न ! कुनै कमेन्ट आएन , हे प्रभु !
दिनभर बेहुलीको घरमा नाैमति बाजा घन्कियाे , नरसिंगा फुकियाे , नाचगान चल्यो । आँचल गाँठो कसियो । साना नानीहरुले बेहुला जुत्ता लुकाएं । जन्ती र घर पक्ष बिच सौदा बाजी चल्यो । धेरैबेरसम्म गलफती चल्यो । म भने मौन थिएं । किनकी मेरो र हुनेवाल बुहारी अर्चना र म बिच यसबारे पहिल्यै संवाद भैसकेको थियो । जग्गेको काम सकेपछि छोरा बुहारी संगै खाना खाने मनमनै निधो गरे तर दिनको ३ बज्दासम्म पनि जग्गेको कुनै सुरसार देखिएन ।म फेरी भोकले पुन: तीन नेत्र देख्न थाले । लगातार तिन दिन भै सकेको थियाे दिनकाे तीन बजे यता खाना खान नपाएको । यस्तै भए बिरामी पर्न के बेर ?म खाना खान एक्लै लुसुक्क गएं । भाेजमा मलाई कसैले चिन्दा पनि चिनेनन् ,क्या रमाइलाे !
अर्चनालाई छोरीको रुपमा बुहारी बनाई घरमा लक्ष्मी भित्र्याउन पाउंदा यो मन त्यसै फुरुङ्ग थियो । उता जग्गेमा बेहुलीको र्पखाई भै रहयो । अव के गर्ने ! कति चुप लागेर बस्ने ? आ दुलाहको वुवा भनुन की सम्धी राजै । म भने जुूरूक्क उठी पन्चे बाजामा छमछम नाच्न थाले । कुम हल्लाएं , खुट्टा बङग्याए ,कम्मर मर्काएं । भुइृमा धुलो उडाएं । माथमा पसिना झारे । “सालको पात टपरी हुने न हुने सल्लैको” ।
२०८० साल माघ १८ गते अर्चनालाई बुहारी बनाई घर भित्र्याएको दिन । हाम्रो घरमा लक्ष्मी प्रवेश गरेको दिन , घरमा नयाँ भण्डारे प्रवेश गरेको दिन , हिसाव किताव राख्ने खजान्ची चयन गरेको दिन , बर्षौ देखिको छोरीको सपना पुरा भएको दिन । म बिहानै देखि ज्वाई, भान्जा भान्जी चेलीवेटीहरुलाई टिकाटाला गरी आदर सत्कार गर्ने कार्यमा तल्लिन भएं । खाना वनाइको ठाउमा जान पनि भ्याईन । घर भित्रै रुमल्लीएं । फुल अक्षतामा नै रुमल्लिएं । पाहुनापासालाई पनि अभिवादन विदाई गर्नै पर्यो ,भान्जा भान्जीहरुलाई पनि पर्खनै पर्यो । बुहारीको माईति पक्ष हाम्रा सम्धी हजुरको नेतृत्वमा एक डफ्फा सम्धी खलकहरू छाेरीकाे घरमा दैला टेक्ने कार्यक्रम , नाता सम्वन्ध विच परिचय गर्ने कार्यक्रम , छोरी दिएको घर हेर्ने कार्यक्रम पनि त्यसै दिन थियो । म दिन भर यस्तै यस्तै शुभकार्यमा व्यस्त बने । त्यस दिन पनि समयमा खाना भएन । झन्डै ५ बजेतिर पेटमा चारो पर्यो । म यतिका दिनसम्म के को शक्तिले उभिन सके हाेला ! अहिले सम्झदा पनि अ।फैमा अचम्म लाग्छ ।
माघको १५ गते देखि १८ गतेसम्म नै राम्रोसंग समयमै खाना खान पाएको थिइन। तै पनि जीवन त चल्दो रहेछ ? शरिरले भने विस्तारै दुखाई भोग्न थालेकाे छ । कतै बिरामी भै हाले पनि अनौठो हुने छैन म मा । तर त्यसो नहोस् किनकी मेरो मन दह्रो छ । मस्तिष्क दह्रो छ । धेरै अगाडी देखि सुनेकै थिएं कि अलि गाह्रो सागुरो पर्यो भने “बाबुको बिहे” देख्लास् भन्ने उखान टुक्का तर मैले त बाबुको हैन छोराको बिहे देखें । कैयौ दिन भोक भोकै भए , कैयौ दिन अनिन्द्रा परें। खल्ती रित्याएं ,अनि जस पनि खाएँ अपजस पनि पाएँ । त्यसैले त मैले बल्ल छोराको बिहे देखेँ । लाग्छ चलि आएको उखान टुक्का सच्याएर बुवाको बिहेको सट्टा छोराको बिहे किन नभन्ने ? मज्जाले भन्दा हुन्छ देखाइ दिन्छु छाेराकाे बिहे ! ! !






