धादिङ:- धादिङको गजुरी गाउँपालिका २ स्थित विहानी पेट्रोल पम्प नजिकैबाट अवैध लागू औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिहान अन्दाजी ३:४५ बजेको समया सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीको समानभित्र लुकाई राखेको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताउनुभयो ।
मिनि ट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी चाउचाउ र विस्कुटको खोल टासेर ६२०.४४ के.जी लागू औषध गाँजा ४५ प्याकेट फेला पारेको केसीले बताउनुभयो ।
बरामद गरिएको गाँजा बिक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । सोहि मिनि ट्रकका चालक सर्लाही लालबन्दी नगरपालिका वडा नं ७ बस्ने बर्ष ३० को सन्तोष कुमार साह पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रतिवन्धित लागु औषध गाँजा उत्पादन, खरिद बिक्री, बितरण, निकासी पैठारी गर्ने व्यक्तिलार्इ लागु औषध (नियन्त्रण) एन २०३३ को परिच्छेद ३ दफा १४ को उपदफा १ को (घ) ५ बमोजिम २ बर्ष देखि १० बर्षसम्म कैद र १५००० देखि १००००० सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।






