सुनकोशीको सुसेली

अधिवक्ता – कृष्णराज अधिकारी

    जुन गोरुको सिंङ छैन,उसको नाम तीखे , जो हरिकंगाल छ उसकै नाम धनवीर , मान सम्मानको भोकोलाइ माननारायण । यस्ता उखान टुक्का त कति छन् कति नेपाली समाजमा जो आफैमा अनौठा लाग्दा छैनन् र ? अझ भनौ नारायणगढमा पोखरा बसपार्क अनि पोखरामा चै वाग्लुङ बसपार्क । एकफेर यात्राको क्रममा गाडीका सहचालकले बर्दघाटमा खाना खाने कुरा गरे , म पनि दङ्ग ! नदी किनारको सुन्दरता लिदै खाना खान पाइने भो त्यसै मन फुरुड्ग । खाना खान झरेपछी पो थाहा भयो कि नत त्यहा कुनै नदी किनारा नै थियो न त घाट नै । त्यतिकै नाम राखिएको रहेछ “बर्दघाट ” । हिस्स बुढी खिस्स दांत ! यसपालीको यात्रामा पनि तयस्तै भयो । बिहानको खाना धुलिखेलको छाप्रो होटलमा खाने कुरा थियो । सडक किनारामा लहरै छाप्रै छाप्राका होटेलहरु होलान् तिनै होटेलहरुमा हामी बांडिएर खाना खाने होला भन्ने सोचेको थिएं तर मेरो सोचाइ बिल्कुल उल्टो परेछ  । सवारी बाट ओर्ली हेर्दा पो थाहा भयो त्यो त चार ढलानको घर पो रहेछ । बोर्डमा नाम चाहीं “छाप्रो “। हामी छ बीस भन्दा बढीका सहभागि यात्रीहरु एकै चोटी छाप्रो भित्र पस्दा बिचरा छप्रे सहुलाइ त थाल खाउन भात पो परेछ । ब्यवस्थापन गर्न ज्यादै कठीन । खाना खान पनि मारामार, सौच गर्न पनि मारामार । यात्राको क्रममा यो पनि अविस्मरणीय घटना नै भयो ।

धुलिखेल बाट हामी सिन्धुलीको खुर्कोट तर्फ अगाडी बढ्दै थियौ । हामीलाइ त्यस दिन खोटाङको हलेसी पुग्नु थियो । हामी अवलोकन भ्रमणकर्ता यात्रुहरु भने ४ वटा यात्रुबसमा बांडिएर यात्रा गरीरहेका थियौ । सडक छेउछाउका मानिसहरुले हामीलाइ कुनै विवाहको जन्ती सवार सोच्नु कुनै अनौठो थिएन । फरक यति थियो कि हामीले सबै बसको अगाडी सहकारीको अवलोकन भ्रमणको ब्यानर टाँगेका थियौ । सवारी चालक भाइहरु पनि कम्ती रमाइला होइनन् , एउटाले हर्न बजायो भने पालैपालो सबैले बजाउने अनि फराकिलो सडक देख्यो कि साइड लाइटको बत्ती झिमिक झिमिक गरी उछिन पाछिन गर्ने । उनीहरुलाइ खेलाची आफुलाइ भने डरले सातो । म भने उनीहरुको गतिबिधि हेरीरहेको थिएं । दायांबायांका सहभागि यात्रुहरु भने सबैजसो भाते निद्रमा परीसकेका थिए । बिपी राजमार्ग नेपालकै नमुना राजमार्ग । केही बर्ष अगाडी मात्रै जापान सरकारले निर्माण सम्पन् गरी नेपाल सरकारलइ हस्तान्तरण गरेको । सडक अत्यन्त सुन्दर र निर्माणकार्य वातावरण मैत्री र टीकाउपूर्ण देखिन्थ्यो । राजमार्ग भरी यात्रा गर्दा जापानकै कुनै ठाउमा छौ कि जस्तो लाग्ने ! हामी नेपालीले माल पाएर पनि चाल नपाउने पो हो कि भन्ने चिन्ता । विशेषत: हल्का साना थोरै भार बहन गर्ने सवारी साधनहरुकोलागि मात्र संचालन अनुमति हुनुपर्ने सो मार्गमा ठुलाठुला बस र टिपरहरु पनि प्रसस्तै गुडेका देखिन्थे । यसले सडकको आयु त छोट्याउने नै भयो त्यसै गरी दुर्घटनालाइ पनि त निम्त्याइ रहन्छ हैन र ?

हामी सवार यात्रुबस एक रफ्तारमा अगाडि बढी रहेको थियो म भने बसको झ्याल खोली सिरसिर हावा खांदै पर परको वातावरण नियालिरहेको थिए । वर परका डाडापाखा बनजंगल दौडी रहेका थिए ,माथि माथि आकासमा काला वादलहरु एक आपसमा कहिले मिल्थे अनि कहिले जुध्दथे ठोकिन्थे फेरी छुटीन्थे , कति रमाइलो लुकामारी ! सडक तल सुनकोशी सुसेली हाल्दै बग्दै थिइन । सडकका दायां वायां बोटबिरुवा रोपेर हरीयाली बनाइएको थियो । कतै कतै त बिभिन्न खालका सुगन्धित फूलहरु मुस्कुराइ रहेका थिए । हेर्दा हेर्दै एक ठाउमा त सडकको भित्ता नै ऐना झ्याल । अहो अचम्म  भित्ता भरी साना ऐना,ठूला ऐना, एता ऐन उता ऐना , जताततै भित्ता भरी ऐनैऐना दगुरीरहेका । मानिसहरुमा पनि यो के को सोख पलाएको होला ? म दंग पर्नु स्वभाविक थियो । अलि पर नदी किनारमा बालाबालिकाहरु बालुवाको थुप्रो उठाइ भात पकाइ खेलेका हो कि जस्तो देखिन्थ्यो । गोठालाहरु नदीको किनारामा मस्तले पौडदे थिए, गाइवस्तुहरु वगरका दुबो चर्दै थिए । मछुवारहरु जालखेल्दै माछा समाउन मै व्यस्त थिए । एकहुल केटाकेटीहरु हावा भरेको ट्यूव चढी नदीको बिचबिच बाट सयर गर्दै थिए । सुनकोशी र त्रिशुलीको निर्मलता र स्वच्छता मा धेरै फरक थियो । त्रिशुली नदी मानवको अति चपेटामा परीसकेको छ भने यता सुनकोशी तिर भने त्यस्तो थिएन । झ्याल बाट तल सुनकोशी तिर हेर्दाहेर्दै मेरो मन मस्तिष्क निर्मल कन्चन नदीसंगै बग्न थालेछ । यो मन उडेर कहिले नदीको पानी अंजलीमा उठाइ पिउन खोज्थ्यो कहिले बांकटे खेलेर नदीमा तैरीदै तैरीदै वारीपारी गर्न चाहन्थ्यो । परपर सल्ल सल्ल बग्दै गरेका पानी हांससंगै बग्न पाए पनि हुने , म झसंग हुन्थे अनि मनलाइ तुरुनतै नियन्त्रणमा राख्न कोसिस गरीहाल्थे ।

खुर्कोट उदयपुर घुर्मीको सडक मार्ग खुलेको त्यति धेरै वर्ष भएको छैन । त्यसैले पनि होला नदी किनाराका प्राकृतिक संपदाहरुलाइ मानवजातीले दोहोन गर्न नभ्याएका । ठाउ ठाउमा नदी वारपार गर्न स्टीलका झोलुड्गे पुलहरु बनाइएका थिए । खुर्कोट घुर्मीलाइ मध्य पहाडी लोकमार्गले भर्खरै जोडेको  रहेछ । विकासको गोरेटोले भर्खर मात्र कन्ननी कसेको । तै पनि मलाइ भने कता कता के नपुगे के नभए जस्तो लागि रह्यो ।डाडापाखाहरु नाड्गा र उजाड थिए । रामेछाप, ओखलढुङगा तिरका भीरपाखा फुस्रा थिए । कतै बोटबिरुवा थिएनन् । नदी किनारका जमिन त्यतिकै बांझो  थियो । मानव वस्ती भएको ठाउमा पनि फलफूल र तरकारी खेती गरेको पाइएन । स्थानीय पालिकाहरु ले आआफनो क्षेत्रमा अभियान कै रुपमा बृक्षारोपण गर्नु पर्ने , कृषि ज्ञान केन्द्रले हावापानी अनुसारको फलफुल र तरकारी खेती गर्न प्रेरीत गर्नु पर्ने हैन र तर खै त ?

अर्को पटकको यात्रामा नदी किनारका जमिनहरुमा लटरम्म लिच्चि फलेको देख्न पाए , आंप कटर, नास्पाती , अमिलो अनि अन्य जात जातका फलफूल भैदिए को हेर्ने रहर छ । त्यस्तै फुस्रा डांडाहरु मा सल्ला धूपी सल्ला , साल , सिसौ , खयर र किनारामा वर पीपल , बांस , नियालो , अम्रिसो लगायतका बोटबिरुवा भैदिए कति रमाइलो हुन्थ्यो ! नदी किनाराका फांटहरुमा सिंचाइको प्रबन्ध , खेतवारीमा तरकारी खेती अनि नदीमा जलयात्रा भैदिएको हेर्ने रहर पलायो ।

हाम्रा सवारी साधनहरु आफ्नै चालमा चलिरहेका थिए ।  सडक कहिले नदीलाइ नै चुम्ने गरी अगाडी बढदथ्यो कतै भने नदी भन्दा धेरै माथि , तल हेर्दा आड्नै सिरिङग । तल तल नदीमा पशुपन्छीहरु मस्तसंग सुनकोशीसंग लाप्पा खेलिरहेका थिए । जल जमिन अनि प्राणीको कति नजिकको सामिप्यता । नदी छ र पो जीव छ अनि जीवन पनि । यस्तो समृद्धिको अनगिन्ती सम्भावना नै सम्भावना बोकेको नदीलाइ किन त्यसै खेर जान दिएको होला  मन खिन्न भयो । मेरो मन भने पून यस्तै यस्तै कुराहरु सोच्दै थियो ।एक्कासी हाम्रो बस रोकियो । संगैका साथीहरु निद्रा बाट बिउझिइ अंखा टाठा पारीसक्नु भएको रहेछ । म झसंग भएं । हाम्रो बसले घुर्मी बजार टेकीसकेको रहेछ । सुनकोशी नदी भने हामीलाइ छोडी अझै अगाडी बढी सुसाइ सुसाइ बगिरहेकी थिइन । धेरै अगाडी कता हो कता ?

–    लेखक त्रिकाेण खवर डटकमका प्रधान सम्पादक समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0