अधिवक्ता- कृष्णराज अधिकारी
नेपालको संविधान २०७२ जारी भए पश्चात् स्थानीय निकायहरूको पनि पुनः संरचना गरियो । जस अनुसार धादिङका ३ वटा निर्वाचन क्षेत्रलाई घटाएर २ वटा र ५० गाविसलाई घटाइ १३ वटा पालिकाहरूमा विभाजन गरियो ।
सङ्घीयता आउनु अगाडि धादिङ जिल्लालाई प्रशासनिक तथा राजनीतिक हिसाबले तीन वटा निर्वाचन क्षेत्र र पचास वटा गाउँ विकास समितिमा विभाजन गरिएको थियो । अन्यत्र जिल्लाहरूको भ्रमण गर्न नसकेता पनि आफ्नो जिल्लाको सबै गाविसहरूमा पुग्ने मनमा ठुलो चाहना थियो । जागिर कालको उत्तरार्ध सम्ममा प्राय सबै गाविसहरूमा टेक्ने अवसर मिलेता पनि उत्तरको तिप्लिङ गाविसमा पुग्न सकेको थिइन । एक पटक अनौपचारिक शिक्षाको कार्यक्रम लिएर सेर्तुङको बोराङ् सम्म पुगेको थिए । तर मैले त्यहाँबाट तिप्लिङ तर्फको भूभाग देख्न सकेको थिइन । त्यसैले मेरो आँखा अगाडि सधैभरी तिप्लिङ गाउँको परिकल्पना रहिरह्यो ।

नेपालको संविधान २०७२ जारी भए पश्चात् स्थानीय निकायहरूको पनि पुनः संरचना गरियो । जस अनुसार धादिङका ३ वटा निर्वाचन क्षेत्रलाई घटाएर २ वटा र ५० गाविसलाई घटाइ १३ वटा पालिकाहरूमा विभाजन गरियो । तत्कालीन लापा, सेर्तुङ, तिप्लिङ मिलाएर जिल्लाकै ठुलो क्षेत्रफल र भूभाग ओगटेको रुवी भ्याली गाउँ पालिका नामकरण गरियो । धादिङ जिल्लाको बिकट दुर्गम क्षेत्र भनेर चिनिने रुविभ्याली गा.पा.मा भर्खर मात्र जिल्ला सदरमुकाम बाट सडक सञ्जालको ट्र्याकले जोडेपछि भने बिस्तारै यसको महत्त्व र चहलपहल बढ्दै जान थालेको छ । त्यसो त रसुवाको गत्लाङ हुँदै जाने सोम्दाङ तिम्लिङको जम्मा २७ कि.मी. सडक आज भन्दा ५,६ वर्ष अगाडि बाट नै सञ्चालनमा नआएको भने हैन । त्यसै समय देखि बाह्य तथा आन्तरिक पर्यटकहरू रसुवा हुंदै त्यस क्षेत्रको अति रमणीय प्राकृतिक सुन्दरताहरूको दृश्यावलोकन गर्न आउने क्रम बढ्न थालेको हो ।

त्यस क्षेत्रमा पुगी फर्कने साथीहरूको मुखबाट तातोपानी कुण्ड,कालो दह,सिंङ्ला, गणेश हिमाल, पाङसाङपास, सोमदाङ र खनिज जन्य धातुहरू र यार्सा लगायतका जडीबुटीहरू अनि चौंरी र भेडीगोठका कुराहरू सुन्दा यो मन त्यसै उडी रहन्थ्यो । गणेश हिमाललाई नजिकै बाट चुम्ने रहर बढ्दै गयो । मेहन्दो माया र तामाङ सेलो मा छमछम नाच्दै पाङसाङपासमा दुवै हात फैलाइ लडीबडी गर्ने रहर पलायो । यस्तै यस्तै कुराहरू सोची मन फुरुङ्ग बनाइ रहे तर यात्रा गर्ने मेसो कहिल्यै मिलिरहेको थिएन । मेरोलागि रुवी भ्यालीको यात्रा भ्यागुताको धार्नी पुर्याउन जस्तै भइरहेको थियो । यस पटक भने मन दह्रो बनाउँदै सुटुक्क मेरो सपनाको रुवी भ्यालीको यात्रामा निस्कने सङ्कल्प गरेँ । तिथि मिति तय गरेँ । यात्राको क्रममा पुग्न पर्ने स्थान र भेट्न पर्ने साथीहरूको सूची उतारेँ । खर्चबर्च जोरजाम गरेँ । सातु सामल देखि औषधि मुलोका सामग्रीहरूको व्यवस्था मिलाए । जाडोबाट बच्न बाक्ला खालका लुगाहरू ब्याग भित्र कोचेँ । धादिङवेशी देखि बोराङ सम्मको जिपको टिकट काटेँ । अब भने म पक्का पक्की रुवी भ्यालीको यात्रामा निस्कने भएँ । जे गर्छन् भगवाले राम्रैका लागि गर्छन् , जहाँ इच्छा त्यहाँ उपाय !
यही २०८१ साल ज्येष्ठ ८ गते बिहान को ७:१५ बजे हाम्रो सवारी साधनले धादिङ बेसीबाट साङकोषको बाटो हुँदै यात्रा सुरु गर्यो । २, ४ वर्ष अगाडिको भन्दा पनि सडकको दुरावस्थाको सडक देख्दा मन दुख्यो । गाडी भित्र बस्दा पनि पुरै झ्याल ढोका बन्द गरी धुलो रोक्ने ज्याकेट लगाइ सरीरनै पुरै ढाक्न पर्नै । मुखमा मास्क त लगाउनै पर्यो अनि अनुहारमा कालो चस्मा । न त जिपको एसी नै चल्छ । मान्छे मान्छे कुहिनु ठोकी रहने अनि खल्खल् पसिनाको धारा आगोमा पिल्साउन राखेको मकै जस्तै । निसास्सी लाग्दो वातावरण । प्राण वायूनै निस्कन्छ कि भन्ने डर ! हे भगवान यो दुःखले किन नछोएको होला हाम्रा नेताहरूलाई ?
लपाङको खाना पश्चात् हाम्रो गाडी आंखुको किनारै किनार अगाडि बढ्दै गयो । झ्याल बाट कहिलेकाहीँ मुन्टो निकाली हेर्दा वारिपारिका डाँडा पखेराहरूमा कच्ची सडकका धर्कै धर्का अनि त्यस मुनि मानवीय लापरबाहीले पुर्याएको भूक्षय र प्रकोपहरू कम कहाली लाग्दो थिएन । नाम मात्रको सडकले कतै उचाइ लिँदै जान्थ्यो भने कतै ओरालोमा घुम्ती घुम्ती हुँदै आंखु खोला चुम्न पुग्थ्यो । प्राय जसो सडकको घुम्तीहरूमा साना गाडीहरूलाई पनि मोड नपुग्ने , पछाडि हटाएर मोड काट्न पर्ने राम राम राम कच्ची सडक यमपुरीको यात्रा । कतै कतै त यसो सडक को तलतिर हेर्दा जिउनै सिरिङ्ग हुने ।
भएभरका ३३ कोटी देवी देवतारहरुलाइ सम्झनु बाहेक अरू विकल्प के नै थियो र ! धन्न हाम्रा सवारीका चालकहरू ! हरेक दिन हत्केलामा ज्यान राखी हामीहरूलाई गन्तव्यमा पुर्याइ रहेका छन् । मनमनैले चालक भाइलाई स्याबास दिए , सम्मान गरेँ । सँगैका एक जना यात्रु साथीले भन्दै थिए ” प्रदेश तिरका ठुलै नेताले अबको ३ वर्ष भित्रमा दामन पाख्रिन मार्ग पक्की पिच हुने कुरा गरेका छन् रे । के हो सर कुरा ? ” उनी म सँग जवाफ खोज्दै थिए । नेता ले भनेपछि होला नि हजुर मैले मुसुक्क हाँसेर उत्तर दिए । तर मेरो मनमा भने कुरा उठिरह्यो कि यस्तै विकास र बजेट छुट्या रहने हो भने ५० वर्षमा पनि तिप्लिङका जनताले पक्की सडक देख्न पाउने छैनन् ।
नेताहरुले गफ लडाउन पनि कसरी सकेका होलान् ? हुन त समय समय मा हामी नेपाली जनता नेताहरुको हावादारी समृद्धीका गफमा ठगि रहेका त छौ नि । सँगैका छिमेकी देशहरूले चन्द्रमामा जाने बाटो बनाउन लागि सके हामी भने उही डोको नाम्लोको भरमा उकाली ओराली गरी रहन पर्ने अनि गीत मार्फत भन्न मन लाग्यो “मलेखुको माछा मिठो सल्यनटारको मास , तिप्लिङसम्म सडक पक्की नभै जनताको जाने भो सास ।”






