धादिङ :- धादिङको नेत्रावती डवजाेङ गाउपालिका वडा न ४ तमै रातमाटे घर भई हाल दुवईकाे कारागारमा मृत्यु दण्डकाे पर्खाईमा रहेका पहलमान थापा मगर नेपाल आइपुगेका छन् ।
नेपाल मगर सङ्घ र त्यससँग सम्बन्ध विभिन्न संघसंस्थाहरूको सहयोगमा थापामगर नेपाल आइपुगेका हुन्। दुबईमा रहँदा ५ बर्ष अधि आफ्नै साथिकाे हत्या आराेप लागेका पहलमान थापा मगरलाई दुबईको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।
दुबईमा रोजगारको सिलसिलामा रहँदा नवलपुर घर भएका एउटै कम्पनीमा काम गर्ने साथी बाबुराम आले मगर बिरामी भइ हस्पिटल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको थियो । हस्पिटल लैजाँदै गर्दा मृत्यु भएपछि धादिङका पहलमान थापा मगर र ओखलढुङ्गा चिशम्खुगढी वडा नम्बर ३ का भुवन श्रेष्ठ माथि हत्या अभियोग लागि दुबई स्थित कारागारमा रहेका थिए ।
मृतक बाबुराम आले मगरका परिवारले ब्लड मनी बापत दुवै पक्षसँग १ करोड नेपाली रुपैयाँ बराबर मागेपछि विभिन्न संघसंस्थाहरूको सहयोगमा रकम उपलब्ध गराएकाे पहलमान थापा मगरका मामा तेजु थापा मगरले बताउनुभयो।
पहलमान थापा मगर र भुवन श्रेष्ठको रिहाइको निम्ति धादिङ तथा ओखलढुङ्गाका सांसदहरूले प्रतिनिधि सभा बैठकमा समेत आवाज उठाउने गरेका थिए।






