झाडा पखला :-(Diarrhoea )
झाडा पखलाको टेक्निकल कुरा गर्नु भन्दा अगाडी म यसको केही पुरानो बिषयलाई उठान गर्दछु। म २०५४ सालबाट स्वास्थ्य क्षेत्रमा प्रबेश गर्दा नेपालमा झाडा पखलाको अवस्था भयावह रहेको थियो , वार्षिक ४५ हजार बालबालिका झाडा पखलाको कारण मृत्यु बरण गर्न बाध्य थिए ।
धादिङ जिल्लाको कुरा गर्नु पर्दा २०५४ सालमा साबिकको दार्खा गा बि स को कुरीमा फैलिएको झाडा पखला, २०५५ सालमा साबिकको गुम्दी गाबिसको चिम्चोकमा फैलिएको झाडा पखला र २०६५ सालमा साबिकको लापा गाबिसको तेङ्चेत, कचेत र चपाङचेतमा , झाडा पखला फैलिएर , म , बिष्णु रिजाल , डा. दिपेन्द्र पाण्डे , डा. दिब्यपुरुष ढकाल र रामनारायण पण्डित लगाएत्को टोलीले उपचार गर्नु आगाडी नै ३ जनाको मृत्यु भएको थियो , सो उपचारको घटना मेरो मासपटलमा अझै ताजै छ ।
यस्ता झाडा पखलाको दर्जनौ घटना देश भरी वर्षा याममा र जाडो मौसममा हुने गर्थ्यो , केही वर्ष अगाडि जाजरकोटमा झाडा पखला लागेर सयौ मानिसको निधन भएको र हजारौ मानिस प्रभाबित भएको सबैलाई जगजाहेर नै छ । अहिले वर्षा याम बाकी भएको र कतिपए ठाउँमा झाडापखला लागेको पाईएकोले पानी उमालेर शुद्ध पानी पिउनु पर्छ , साथै हात धोएर मात्र खाना खानु पर्दछ ।
हामीहरु स्वास्थ्य क्षेत्रमा लाग्दाका बखत प्राय : हरेक ग्रामीण क्षेत्र , बस्तिहरुको घर घरमा शौचालय थिएन , मानिसहरु खोल्सा, खोला, काल्ला मुनी , जङ्गल , बाटोघाटो , खुल्ला ठाउँ मा दिसा गरेको पाईन्थ्यो । धादिङ जिल्लामा पहिलो पटक २०६८ साल फागुन १८ गते म कार्यरत रहेको साबिकको मुरली भन्ज्याङ गा बि स लाई खुल्ला दिसा मुक्त गा बि स घोषणा गरियो । त्यस पछि क्रमैसङ धादिङ जिल्लामा शौचालय निर्माण कार्य शुरु भैइ २०७०/०७१ मा पुरा भेकोमा २०७२ को बिनासकारी भूकम्पले फेरी शौचागार क्षतबिक्षत बनायो। पछी पुनर्निर्माण हुदा शौचालय लाई उच्च प्रार्थामिकता दिएर निर्माण गरियो । शौचालय निर्माण , झाडा पखाला बिरुद्धको खोप , ५ वर्ष मुनीका बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रमले गर्दा झाडा पखला हाल नियन्त्रणमा रहेको छ , तर पनि अझै पुर्णरुपमा नियन्त्रण भएको छैन ।
अब झाडा पखलाको (टेक्निकल कुरा) परिभाषा :- कुनै ब्यक्त्तिलाई धेरै पटक पातालो दिसा लागेर शौचालय दौडेको दौडै गर्नु पर्ने भएमा पखला लागेको भन्ने चलन छ , तर मेडिकल भाषामा दिनमा ३ पटक भन्दा बढी पातालो दिसा लागेमा पखला भनिन्छ । झाडापखला (Acute) तुरुन्त र (Chronic) दीर्घ खालको हुन्छ ।
झाडा पखला लाग्नुकाे कारण :- १. ब्याक्टेरिया (Bacteria), २. भाईरस (Viruses) , ३. प्यारासाईट (Parsites) , ४.फङगाई (Fungi) , ५. खानपिनमा बिषाक्त भएर , खानाको एलर्जी भएर आदि कारणले झाडा पखाला लाग्ने गर्दछ ।
झाडा पखलाको लक्षण तथा चिन्हहरू :- जल बियोजन हुन्छ , मुख सुख्खा हुनु , बढी प्यास लाग्नु , जिब्रो सुख्खा हुनु , पिसाब कम लाग्नु , तालु धसिनु, आखा गड्नु , छाला तान्दा बिस्तारै फर्कनु , नाडी छिटो चल्नु , ब्लडप्रेसर कम हुनु जस्ता लक्षण तथा चिन्ह देखिन्छ ।
उपचार :- शरिरमा तरल पदार्थ कति खेर गएको छ , त्यसको आधारमा उपचार गर्नु पर्छ , मुख्य कुरा त जिवन जल प्रयोग प्रमुख हुन्छ ।धेरै जलबियोजन छ भने नशा बाट सलाईन पानी दिनु पर्ने हुन्छ , के कारणले झाडा पखला भएको हो सो पत्ता लगाई अन्य औषधि गरिन्छ ।
झाडा पखला रोक्ने उपाय (रोकथाम) :-
१ ,शुद्ध पानीको प्रयोग गर्नु पर्छ । ।उमालेर , फिल्टर गरेर, पियुसको प्रयोग गरेर पिउनु पर्दछ्।
२, शौचालय को उचित प्रयोग गर्ने ।
३, शौचालय , खाने पानीको मुहान भन्दा टाढा बनाउने ।
४, सहि तरिकाले हात धुने , खाना खानु अगाडी मिची मिची साबुन पानीले हात धुने ।
५ , बासी सडेगलेको नखाने ।
६ , बच्चालाई बोतल द्वारा दुध नखुवाउने ।
७ , स्वास्थ्य शिक्षाको ब्यापक प्रचार -प्रसार गर्ने ।
८ , पुनर्जलिय उपचार गर्ने ।
९ , पखला कम नभएमा स्वास्थ्य सस्था जाने ।
लेखक :- बद्री पौडेल






