पुरानो धान असार मै सकियो ।
घैया मुरादोयक थियो त्यही पनि हरियै काटेको। पानी परेको पर्यै। खरटारको पुछार गह्रोमा कन्जिरा घैया धान छरेको राम्रै फलेको थियो । चिउरा त मिठो हुने दशैँलाई अक्षता नचल्ने। गाउँको खेतमा धान भन्दा भुस धेरै फल्ने , लुईँ लुईँ बढ्ने हावाले ढाल्ने !!
बेसीमा एउटा खेत थियो बा बिते पछि बाँजै!!
हामी आमा छोरालाई जसो तसो खान त पुग्ने तर यसो नगद हात नपर्ने !
म सानै ,
दाइ हरायो
दिदीहरुको बिहे भयो ।
घरमा खसी छैन ।
नया नाना पनि छैन !
अनि कसरी आउँछ दशैँ ?
बिहान उठेर आमा घाँस काट्न जानु भयो ।
म पिँढीमा ढुक्रुक् बसिरहेँ।
एक छिन पछि आँगनको डिलबाट आमालाई बोलाएँ।
ए ••• आमा !!
आमा हो •••• !
“लल एक छिन पख, म आँउछु ”
आमाले बारीबाट
भन्नु भयो ।
एक छिन पछि आमा आउनु भयो ।
पोल्टाबाट काचो कट्मेरो बेलाउती झिकिरे दिनुभयो।
बल्ल बल्ल दाँत गाडेर टोकेँ मिठै भो ।
आमाको पोल्टामा समय अनुसार, आँप, भलायो, जामुनो, खनायो, ऐँसेलु, तिँदु, वदाम, बोडी, केही न केही त अवश्य हुन्थ्यो ! किनकि उहाँ त आमा हो नि! बच्चालाई नछुट्ट्याई निलिदै निलिदैन!!
” कान्छा! म मास्तिर गएर आउँछु एक छिन बस है ? ”
नाइँ, म पनि जान्छु भन्दै पछि लागेँ। अलि माथि गएर एउटा घरमा पस्नु भयो , साना भुरालाई टौवामा पिङ् हालिदिएका रैछन्।
ढिकीमा ड्वाङ्ग ड्वाङ्ग चिउरा कुटिरहेका थिए। म पिङ्ग खेल्ने पालो पर्खिरहेँ तर पालै आएन। मैले मागिन पुलु पुलु हेरि मात्र रहेँ। एक छिन पछि चिउरा कुटेको ठाउँमा गएर हेरेँ।
भक्र्याङ च्याङ, भक्र्याङ च्याङ!
पुलु पुलु हेरेको देखेर एक जना काकी आमाले ला! कान्छा भनेर दुई मुठी चिउरा दिनु भयो ।
कमिजको फेरो थापेँ र चपाउँदै आमा तिर गएँ। आमा मकै छोडाइ रहनु भएको रहेछ।
एक छिन पछि एक जना काकीले एउटा कचौरामा मोइ दिनु भयो ।
म मोइमा चिउरा भिजाएर चपाउन थालेँ मर्याक मर्याक!
एक पछि कछाड फेरेका एक जना बा भित्रबाट निस्कनु भयो। एउटा हातमा पहेलो लोटा र अर्को हातमा एक गाँस भन्दा अलि कति बढी दुधमा मुछेको चामलको भात लिएर ।
आँगनको डिलमा दूधभात राखिदिनु भयो। कुकुर पुच्छर हल्लाउँदै आएर खायो ।
मैले कचौरामा मोइच्युरा खाएको देखेर कुकुर पुच्छर हल्उँदै म तिर आयो ।
मैले अलि कति मोइच्युरा भुईँमा दिएको सुँघेर छाड्यो।
आमाले मजेत्रोमा दुई पाथी धान थाप्नु भयो , मंसीरमा दुई दिन धान काटेर सुलाउने शर्तमा।
त्यस पछि आमाले मैले मोइचिउरा खाएको कचौरा माझेर पिँढीमा राख्नु भयो अनि हामी घर आयौँ।
मैले त चिउरा खाएर पेट भरे आमा भोकै !
घरमा आएर ढोका खोल्नु भयो । बिहान आगो फुकेर दैलो पोते पछि आगोको अगुल्टो गाड्नै बिर्सिनु भएछ!
ला! आगो त निभेछ!
“जा, जा कान्छा पल्लोघरबाट आगो मागेर ल्या! ”
आमाले सिलबरको थाल दिनु भयो । म कुदेर पल्लोघरको काकीआमासँग आगो माग्न गएँ।
हेर, हेर , आधिदिनमा आगो माग्न आएको!
यो दिदीले पनि यो कान्छालाई अहिलेसम्म भात खान दिएको छैन । एक बट्टा सलाइ राख्नु नि घरमा!
मेरो पेट चिउरा र बेलौतीले भरिएको तर मेरी आमा भोकै भएको उनलाई के थाहा? अनि अर्को कुरा त्यो सलाई किन्न पैसा चाहिन्छ। अनि हामीसँग पैसा थिएन !
आगो ल्याएँ। आमाले आगो फुकेर भात पकाउनु भयो । खाएर लागियो उकालो । पसल तिर!!
कपडा पसल पुगियो । दशैँको कपडा किन्नेको भीड!
पसले कपडा च्यात्या च्यातै!
पसलमा मान्छे आउन छाड्दैन, साहुलाई उधारो माग्न आएको भन्ने थाहा छँदै छ !
हामीलाई कसले सोध्ने। पसलको छेउमा किच्च दाँत देखायो बस्यो।
२,३ घन्टा पछि आमाले बाबु यसलाई एउटा कमिज र कट्टु दिनुन !
पसलेले कपडा काट्न थान निकालेको मात्र के थिए साहुनी आएर तिर्न सक्ने हैन। किन दिन पर्यो ?!
भन्दै कपडा खोसिन् !!
साहुजी किच्च परे घरज्वाईँ जो बसेका थिए! दयालु थिए तर स्वास्नीको अगाडि कायल !!
आमा र म पल्लो पसलतिर लाग्यौँ।
पन्ध्र मिनेट हिँडे पछि पसल आयो ।
आमाले धेरै बिन्ति गरे पछि कपडा पाइयो ।
ल्याएर दमैदाई कहाँ सिलाउन दिएको कुर्दा कुर्दा पालै आएन। भोलि कि भोलि भन्दै गए।
दलितलाई सबैले हेप्छन् भन्थे तर गरीबलाई दलितले पनि हेप्दा रहेछन् ! विचरा म बाहुन!!
दशैँमा कपडा सिलाउने पालो पनि आएन ।
मेरो टेवा पनि थिएन ।
पिङ् पनि थिएन !
टौवा बनाउन पिङ् हाल्न बाउ चाहिँदो रहेछ ! मेरा बाउ मरि हाले !
घरमा खसी थिएन ।
अनि मलाई दशैँ किन आउँने !!
गरीबलाई के दशैँ तिहार?
जय दुर्गा!!
लेखक :- केशब दुवाडी






