कृष्णराज अधिकारी- अधिवक्ता
धादिङ बार एसोसिएसनका साथीहरूले यस पटकको अवलोकन भ्रमण स्थान छनोटको जिम्मा मलाई दिए । साथीहरूले दिएको जिम्मेवारी कसरी पुरा गर्ने ? परेन त फसाद ! यु ट्युब सर्च गरी हेरे । विनय खतिवडा को टिमले धादिङ बेसी देखि पोखरा हुँदै मध्य पहाडी लोक मार्गको केही महिना अगाडी मात्र  यात्रा गरेका रहेछन् । मलाई पनि त्यो रुट मन पर्‍यो र त्यसैलाई पछ्याउँदै यात्रा गर्ने निधो गरे । यात्रामा अनुमानित लाग्ने दिन, हरेक दिनको गन्तव्य स्थानहरू सहितको यात्रा रुट तयार भई सबै साथीहरू माझ सहमति भयो । तर अपसोच असोजको दोस्रो हप्ता तिर देशैभर घनघोर वर्षा भयो । हेर्दा हेर्दै नदी खोलाहरू बस्ती सहरमा पस्न थाले, पहाडहरू पैह्रो जान लागे , सडक र पुलहरू बगरमा मिले । प्रकृतिले युद्ध मैदान जस्तै बनायो नेपाललाई । निमेषमै मानव संरचना माटोमा मिलन भयो । यातायातका साधनहरू ठप्प जस्तै भए । त्यसै समय असोजको १७ गते बाट हाम्रो यात्रा पोखरा बागलुङ हुँदै जाजरकोट सम्मको तय थियो । प्राय कानुन व्यवसायीहरुलाइ लामो बिदा भनेकै दशै हो अरू बेला आसे खेती फुर्सद पनि नहुने । फेरी पनि यात्रा अगाडि बढाउने कि स्थगित गर्ने भन्ने जिम्मा मलाई नै लगाइयो । दैनिक जसो समाचार हेर्दा र चिनजानका साथीहरूसँग सम्पर्क गर्दा हामीले तय गरेको रुटमा कुनै बाधा छैन भन्ने बुझियो । यता सबै साथीहरूको घर परिवारमा भने ए पानी पर्छ भनेको छ यात्रा नगरेकै राम्रो भनी दबाब दिई रहेका थिए । साथीहरूले मेरै मुख ताक्नु भयो । मलाइ पनि के थाहा आफू कहिल्यै हिँडेको रुट थिएन तै पनि हामी जाने बाटोमा कहीँ केही भएको छैन , पानी पनि परेको छैन भनी गफ हानिदिएँ । अब भने हाम्रो यात्रा तोकिएकै दिनमा हुने भयो ।

             यस अगाडिको भन्दा हाम्रो गन्तव्य यत्रा बिलकुल फरक थियो । सधैँ धादिङ बेसी मलेखु हुँदै पृथ्वी राजमार्ग बाट हिडि रहेकोमा यस पटक भने हामी धादिङ बेसी बाट आरुघाट गोरखा हुँदै लिगलिग कोट, पालुङटार,लमजुङको सुन्दर बजार बाट कास्कीको रुपाकोट निस्किई  पहिलो दिन पोखरा पुगियो । हामी मध्य पहाडी लोक मार्गलाई पछ्याइ रहेका थियौ । धन्न प्रभु, हामी हिँडेको बाटोमा कुनै ठुलो पहिरो गई सडक नै अवरुद्ध गरेको रहेनछ । उता मलेखु मुग्लिङको सडक भने ठाउँ ठाउँमा पैरो चली आवागमनमा अवरोध पुगिरहेको थियो । पहिलो वास हाम्रो पोखराको लेक साइडमा रमाइलो गरी बित्यो । भोली पल्ट हाम्रो अर्को साथी खिल गिरी प्लेन मार्फत पोखरा आइ अवलोकन भ्रमणमा समावेश हुने कुरा आयो । हामी बिहान भर पुम्दीकोट महादेवको दर्शन र पूजाआजा गरी  पोखरा बिमानस्थलमा साथी लिन गयौँ । काठमाण्ड बाट प्लेन उड्न अलि ढिला भएछ । हामी अरूहरू जस्तै आगमन कक्षमा खादा र फूलको गुच्छा लिई साथीको स्वागत गर्न आतुर थियौ । छोडिएको साथीको भव्य स्वागत गरियो । हाम्रो टिममा थप ऊर्जा मिल्यो ।

आँधीले रोक्न सक्दैन , बादलले छेक्न सक्दैन भन्ने गीत गाउँदै हाम्रो यात्रा नौ डाँडा, कुस्मा , माल्ढुङ्गा हुदै बागलुङ बजार बाट बुर्तिबाङ तर्फ बढ्दै थियो । त्यस दिनको हाम्रो गन्तव्य भनेको बुर्तिबाङ सम्म थियो तर बागलुङ बाट ७,८ किमी अगाडि नपुग्दै हाम्रो स्कार्पियो गाडीमा समस्या देखियो । पोखरा बाट सामान झिकाएर बनाउन पर्ने कुरा भएकोले हामी भने पुन बागलुङ बजारकै एक होटेलमा रात बितायौ । भोलीपल्ट पनि बिहान भर गाडी बनाउन लाग्ने भएकोले हामी बागलुङ कालिका दर्शन गरी बजार घुमघाम गर्‍यौ । हाम्रो यात्राका क्याप्टेन गाडी चालक भुजेल दाइ थिए । उनको आफ्नै गाडी भएर हो कि कसो राम्रै सडक भएको ठाउँमा पनि गाडीको गति त्यति थिएन । सायद आफ्नो साधन जतन गरेको होला भन्ने ठानेँ ।

            बुर्तिबाङ बाट ढोर पाटन ३३ किमी टाढा पर्दो रहेछ । हाम्रो सेडुलमा एक बास ढोरपाटन पनि थियो । ढोरपाटन जाने बाटो जीर्ण अवस्थाको , राम्रो मर्मत हुन नसकेको प्राय स्थानीय बलेरो गाडीले जोखिम मोलेर सुविधा दिएको रहेछ । मनमनै बुर्तिबाङ बाट एउटा बलेरो गाडी खोज्नु पर्छ होला भन्ने लाग्दा लाग्दै हाम्रा भुजेल दाइले त बजारमा गाडी नै नरोकी सरासर अगाडि बढे । हामीलाई पनि हाइसन्चो । आफ्नै साधन भएपछि अरू किन खोज्ने ? पोखरा देखि सामान झिकाएर दाइले गाडी राम्रैसँग बनाएका रहेछन् भन्ने ठाने । हामी ढुक्कसँग उनको कप्तानीमा गीत गाउँदै,ताली ठोक्दै अगाडि बढ्यौ । जता जता गाडी लर्किन्थ्यो हाम्रो ज्यान पनि त्यतै तिर मर्किन्थ्यो । कहिले उफार्ने,कहिले थेचार्ने,कहिले हुटमा टाउको ठोक्किने कहिले साथी साथी बिच नै ठ्वाक्क ठुक्क ऐया बा आत्था बा ! जाँदाजाँदै रात पर्‍यो । घुम्ती पिच्छे नै इसारा गर्दे ओड लगाउँदै गाडी अगाडि लैजान पर्ने भयो । एकजना साथीको कामै ढुङ्गा को ओड बोकी हिँड्नु पर्ने । ए दिग्दार ! के आपत् आइलाग्यो ? केही वर्ष अगाडि सिन्धुली खुर्कोटको बाटो बन्ने क्रममा पनि साथीहरूले उकालोको मोडमा यसै गरी ढुङ्गा बोकी हिँडेको सम्झे । त्यस बेलाको ड्राइभरले त दिउसै धरान बाट भेडेटार जाँदा कुहिरोको कारण बाटो नदेखेर एक जना साथीले मोबाइल बालेर इसारा गरी बाटो देखाएका । भन्न पनि लाजमर्दो । यस पटकको यात्रामा पनि त्यही घटना दोहरिएला जस्तो , के गर्नु आफूले स्टेरिङ काट्न नमिल्ने नत्र ? बल्ल बल्ल ढोरपाटन त पुगियो । बास बस्ने लज केही अगाडि नै देखिए पनि त्यहाँसम्म पुग्न सानो खोला तर्न पर्ने रहेछ । रातमा त त्यही खोला पनि समुद्र जस्तै । कता बाट गाडी खोलामा झार्ने ? यता किनारा कुदायो उता कुदायो खोलामा झर्ने बाटो मरे देख्दैन हाम्रो भुजेल । फेरी साथीहरू टर्च बालेर बाटो खोज्न लाग्नु भयो । उता खोला पारी लजका साहु पनि बत्तीको इसाराले सङ्केत गर्दै थिए । बल्ल तल्ल गन्तव्य मा पुगियो ।

             तीन हजार मिटर भन्दा माथिको उचाइमा रहेको ढोर पाटन सिकार आरक्षण नेपालको एक मात्र सिकार आरक्षण निकुञ्ज हो । विदेशी सिकार गर्न सौखिनहरू डलर खर्च गरेर यहाँका वन्यजन्तु सिकार गर्न आउने गर्दछन् । आरक्षण केन्द्र भित्र भएर होला होटलहरु प्रायः पक्की संरचनाका नभै काठै काठका फलेक बाट बनेका देखिन्थे । एक दुई दिन अगाडि देखिनै हामी बास बसेको होटेलमा स्वास्थ्य प्राविधिक शिक्षालयका भाइबैनीहरु बस्दै आएका रहेछन् । त्यस दिन उनीहरूको अन्तिम बसाइँलाई यादगार बनाउन क्याम्प फायर गर्दै नाचगानको कार्यक्रम पनि रहेछ । हामी भने दिनभरको कष्टकर यात्राको थकाइका कारण खाना पिना पछि बिच्छयौना तिर लागि हाल्यौ । काठको फलेकको बार भएको कोठा भएकोले बाहिर फेरको हावा र आवाज सहजै कोठा भित्र सम्म आइ रहन्थ्यो । एकातिर सिरक नै छेडी आएको बाहिरी चिसो अर्को तर्फ पल्लो कोठा तिर अल्लारेहरू उफ्री उफ्री कराएको आवाज , जति नै निदाउन खोजे पनि निद्रै लागेन । म सँगै अर्को कोठामा भुजेल दाइ सुतेका थिए । उनी पनि राती बेला बेला ए कति हल्ला गरेका भनी हकारी रहेका थिए ।

               भोलीपल्ट बिहान बाहिर तिर निस्किएर यसो हेरेको त जताततै सम्म उपत्यका । कति ठुलो उपत्यका हो हामी दङ्ग पर्‍यौ । कोही साथी सल्यानटार भन्दा २ गुणा ठुलो भन्दै थिए कोही हैन हैन यो त ४ गुणा ठुलो होला भन्दथे । ढोरपाटन को बिहान बाहिर तिर निकै नै चिसो सिरेठो चलिरहेको थियो । ढोर पाटनको सेरोफेरो पैदल घुम्न एक दिन भन्दा बढी लाग्ने भएकोले गाडीमै हल्का घुम्ने निधो गर्‍यौ ।मैले सोचेको थिए भुजेल दाइ रातभर निदाएका छैनन् होला बिहानी अबेर सम्म सुते भने निद्रा पनि पुर्याउछन् अनि दिउसो हिँड्न सहज हुन्छ । तर त्यसो भएन । उनी हामीसँगै गाडी लिएर निस्किए । राती टर्च बाली बाली गाडी झार्ने ठाउँ खोजेको खोलो त बगरै बगर जता पनि गाडी लैजान सक्ने स्याल्ल बगेको खहरे पो रहेछ । बिहान को ११ बजे सम्म ढोरपाटन कै सेरोफेरो को प्राकृतिक दृश्यावलोकन गरेरै बित्यो । तिब्बती शरणार्थीहरुको वस्ति देखि गुम्बा मन्दिर सबै डुलियो । प्राकृतिक दृश्यावलोकन र भेडीगोठ को जीवनशैली हेर्न कम्तीमा २,३ दिन त्यही बस्न पर्ने रहेछ । तर त्यो समय हामीमा थिएन ।

                करीब दिनको १२ बजे तिर हामी ढोरपाटन बाट बुर्तिबाङ तर्फ फर्कियौ । हाम्रो यात्रा अझै रुकुम , जाजरकोट सम्म पुग्ने थियो । जाजरकोट बाट चौरजहारी सुर्खेत हुंदै नारायणगढ धादिङ सम्मको यात्रा रुट बनेको मा बाग्लुङमा गाडीका कारण १ दिन ढिलो  भैसकेकोले जाजरकोट पुगि उही बाटो फर्कने निर्णय भयो । रातभर निद्र नपरेकोले म भने गाडीको पछाडिको सिटमा एक्लै खुट्टा पसारी लगेज सिरानी राखि पल्टीए । अरु साथीहरु अगाडिको सिटमा बसी गफगाफ गर्दै थिए । म आफ्नै तालमा झ्याप्प , साथीहरु गफमै मस्त ।

                  ढोरपाटन बाट हिडेको ७,८ किमी नपुग्दै गाडी भित्र खैलाबैला चल्यो । म झस्किए । गाडीले गेयर लिएको थिउन , पुरै न्यूट्रल जस्तो खल्याङ खल्याङ । ड्राइभर ए ब्रेक फेल भो लौ न के गर्ने भन्दै थिए । चालक नजिकैको सीटमा खिल गिरी थिए, उनी कुना तिर मोड , कुना तिर मोड भनि करांदै थिए । अगाडि बस्ने अरु साथीहरु पनि लौ न लौ भनि चिच्याइ रहेका थिए । म भने पछाडिको सीटमा रनभूल्ल ! डिकी जस्तो ठाउ , चाहेर पनि सजिलै बाहिर निस्कन नसक्ने , दैवको लिला जसो होला होला भनि गाडि भित्र नै कोचरकिएर बसिरहें । बाल बाल स्टेरिङ काट्न भ्याएर कुना पट्टीको नालको ढुङगामा गाडीले ओट लाग्न भ्याएछ , गाडी रोकियो । अगाडि बस्ने सबै साथीहरु हस्याङ फस्याङ गर्दै गाडिको सीटबाट ढोका खोली बाहिर निस्किए । गाडी रोकिइ सकेकोले म एक्लै भित्रै थिए । ए कस्तो मूर्ख झर भन्या भनि बाहिर बाट साथीहरु कराउन लाग्नु भयो । म बल्ल बल्ल सीटलाइ फोल्ड गर्दै बाहिर निस्किए । गाडी रोकिएको ठाउं हेर्दा रिंगटा लाग्यो । हाम्रो सवारी साधन त भीरको मोडमा दैव संयोगले अडिएको रहेछ । एक मिटर मात्र गाडी अगाडि बढेको भए छङ्गाछुर भीरमा गाडीसंगै सबै स्वाहा ! धन्न भगवानले हाम्रो हात थापेछन् । दृश्य देख्दा हातखुट्टा लगलग नकांप्ने कुरै भएन । हिजो पूजाआरधना गरेको पुम्दीकोटका महादेव अनि बाग्लुङ कालिका माईले हाम्रो कल्याण गरेछन् । सबैका ईष्टदेव पनि तत्काल शक्तिवान भै उभिएछन् । सबै तेत्तिसकोटी देवताहरुको शक्ति हामी उपर प्राप्त भएछ । यत्रो घटना हुंदा पनि गाडीमा कहिं केही नभएको अनि हामी पनि सबै सकुसल ।यो घटनालाइ हामी सबैले सामान्य नै ठान्यौं । यत्रा अवधिमा यस्ता घटनाहरु हुन्छन् जान्छन् , त्यसको सही ढंगले सामना गर्नु नै राम्रो हुने सबैको निस्कष आयो । म मा भित्रभित्रै भय निस्किइ रहेको थियो – चालक उपर बिस्वास गरुं कसरी , नगरौ पनि कसरी ? कतै ड्राइभरले ब्रेक भनेर आत्तिएर क्लज त थिचेन भन्ने लागिरह्यो । बुर्तिबाङ सम्मको बांकी बाटो डरैडरमा झर्यौ ।ग्यारेजमा गाडीको हलुका चेक जांच गरी रुकुमकोट तर्फ लाग्यौं। सायद हाम्रो जीप त्यो डरलाग्दो घुम्तिमा नरोकिएको भए अहिले तपाईहरु सामु यो कहानी कहां पस्कन सक्थे होला र ? हुन त साथीहरुले यो घटना कसैलाइ पनि नगरौ है भनेका थिए । तर लामो समय देखि घांटी खसखस भै रह्यो त्यसैले सार्बजनिक गरें । यसो भनिरहदा कतै गल्ति भए अबस्य पनि माफ हुने नै छ । घुम्तिको मोडमा अड्किएको जीन्दगी कहांसम्म पुग्ने हो अहिले लाइ यत्ति नै ……….।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0