ईश्वर थापा मगर
धादिङ ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा अवस्थित शहीद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनका साथ आज देखि औपचारिक रूपमा सेवा सुरु गरेको छ।

विशेषज्ञसहितको सेवा प्रदान गर्न थालेको यस अस्पतालले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ। शनिवार देखि सुरुगरेको बिशेषज्ञ सेवावाट २३० जना सेवाग्राहीहरुले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालले सुभारम्भको अवसरमा ५० प्रतिशत छुट सहित बिरामीहरुलाई सेवा प्रदान गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनु भयो ।

शहीद मेमोरियल अस्पतालले प्रतिश्पर्धामा भन्दा पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अस्पतालले 4D रंगिन मेसिनद्वारा जिल्लामै पहिलो पटक Color Doppler, कलेजोको Fibro Scan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anomaly Scan सेवा, २४ सै घण्टा अत्याधुनिक मेसिनद्वारा ल्याब परीक्षण सेवा, १ घण्टामा द्ययियम, पिसाब, सुगर, थाइराइड जाँचको रिपोर्ट दिने, र ६००MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा प्रदान गर्ने जनाएको छ।

अस्पतालको उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले शहीद मेमोरियल अस्पताल सञ्चालन भएसँगै धादिङ अस्पताललाई चुनौती थपिएको बताउँदै नागरिकले पैसा भन्दा पनि सेवाको गुणस्तर हेर्छन् भन्ने जोड दिए। उनले शहीद मेमोरियल अस्पतालले काठमाडौं जान नपर्ने गरी गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।
यसैगरी, धादिङ अस्पतालले पनि गुणस्तरीय सेवा प्रदान गर्ने र शहीद मेमोरियल अस्पतालले धादिङ अस्पतालले प्रदान गर्न नसकेका सेवाहरु प्रदान गर्ने अपेक्षा गरिएको छ। शनिबार सञ्चालित विशेषज्ञ सेवामा २३० जनाले सेवा लिएका थिए।






