काठमाडौं, जेठ — काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा एक पुरुष र एक महिला कोठाभित्र मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार मृतकहरू भारतको चण्डीगढ घर भएका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ की २८ वर्षीया अञ्जना तामाङ रहेका छन्। उनीहरू पासिकोटस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
प्रहरीका अनुसार गएराति उनीहरूलाई कोठाभित्रै मृत अवस्थामा फेला पारिएको हो। मृतकहरूसँगै सोही कोठामा रहेको एक कुकुरसमेत मृत फेला परेको छ।
घटनाको प्रकृति हेर्दा शंका जनक देखिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिएका छन्। घटनास्थलको प्रारम्भिक जाँच, फरेन्सिक टोलीको उपस्थिति तथा शव परीक्षणपछि मात्रै मृत्युको कारण यकिन हुने जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।






