काठमाडौं, असार १ गते।
सामाजिक सञ्जाल TikTok मा नियोजित र दोहोरिएको रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्यहीन र भ्रामक सामग्री प्रसारण गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, सार्वजनिक रुपमा व्यक्ति, संस्था तथा सम्प्रदायप्रति नकारात्मक धारणा फैलाउने र चरित्र हत्या गर्ने उद्देश्यसहित सामग्री सम्प्रेषण गरिँदै आएको भन्ने उजुरीका आधारमा अनुसन्धान थालिएको थियो।
प्राविधिक विश्लेषण र अनुसन्धानको क्रममा ती क्रियाकलापमा संलग्न खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीया रमा बस्नेतको संलग्नता पुष्टि भएको ब्यूरोले जनाएको छ।
उक्त कार्य विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पर्दछ। त्यसै आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई २०८२ असार १ गते भक्तपुरबाट पक्राउ गरेको हो। हाल काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिनुभयो।
साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी जातीय, धार्मिक, सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नियन्त्रण गर्न निगरानी र कानुनी कारबाहीलाई तीव्र बनाएको जनाएको छ।






