धादिङ — दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ स्थित चैलिङमा बाख्रापालन तथा व्यवसायिक योजना तर्जुमा सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।

चाइल्ड फन्ड जापान र प्रयास नेपाल धादिङको साझेदारीमा सञ्चालित “शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत आइतबार र सोमबार सो तालिम संचालन गरिएको हो। तालिम बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा वडा नं. ६, ८ र १० का विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारहरूको आम्दानी वृद्धि गर्ने उद्देश्यले गरिएको हो।

तालिममा बाख्रापालनका लागि छनौट गरिएका २४ घरपरिवारका कृषकको सहभागिता रहेको थियो। तालिमका प्रमुख सहजिकर्ता शिव भण्डारीले सहभागी कृषकहरूलाई बाख्रापालनको महत्त्व, जात तथा विशेषता, रोग पहिचान र उपचार, खाद्य व्यवस्थापनलगायतका विषयमा विस्तृत प्रशिक्षण दिनुभयो।

यस क्रममा कृषकहरूले आफ्ना व्यवसायिक योजना समेत निर्माण गरेका छन्। सोही योजना अनुसार भविष्यमा बाख्रापालनका लागि आवश्यक सहयोग प्रदान गरिने परियोजना प्रबन्धक सन्तोष सत्यालले जानकारी दिनुभयो।

पशु स्वास्थ्य प्राविधिक सीता चौधरीले खोर निर्माण तथा व्यवस्थापनका लागि आवश्यक मापदण्डहरूबारे जानकारी दिनुभएको थियो।

प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार, बालबालिकाको शैक्षिक सुधारमा परिवारको आय आर्जन महत्वपूर्ण भएकाले खोर, घाँस व्यवस्थापन, बाख्राका प्रजाति (ब्याडे बोका र बाख्रा), तथा प्राविधिक सेवा उपलब्ध गराउने योजना बनाइएको हो।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, परियोजना प्रबन्धक सन्तोष सत्याल, अनुगमन समिति संयोजक कपिलदेव सापकोटा, लेखा तथा प्रशासन अधिकृत राजन रिजाल, फिल्ड कार्यक्रम अधिकृतहरू, कृषकहरूसहित ३४ जना सहभागी थिए। कार्यक्रममा चैलिङबाट फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले सहभागिता र जानकारी दिइएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0