ईश्वर थापा मगर
धादिङबेसी, असार — धादिङको सदरमुकाम धादिङबेसीमा स्थानीय तहको नीति, योजना र बजेट सम्बन्धमा नागरिक बहस कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार सम्पन्न कार्यक्रममा नीति निर्माणदेखि बजेट निर्माण प्रक्रिया र त्यसमा नागरिक सहभागिता तथा पारदर्शिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा गहिरो छलफल गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकारको नीति, योजना र बजेट जनउत्तरदायी ढंगले बनाउन प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ। सहभागीहरूले नीति निर्माणको प्रक्रियामा सार्वजनिक सुझाव र स्थानीय आवश्यकतालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, शिक्षाविद्, विद्यार्थी, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले नीति र बजेट निर्माणमा स्थानीय आवश्यकता, समावेशिता, पारदर्शिता र दीर्घकालीन दृष्टिकोण आवश्यक भएको तर्क गरेका थिए।
विभिन्न सरोकारवाला संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा आवधिक, वार्षिक, रणनीतिगत तथा विषय–क्षेत्रगत योजनाहरू कसरी तयार गर्ने र कार्यान्वयन गर्ने भन्ने विषयमा प्यानल छलफलसमेत गरिएको थियो।
कार्यक्रममा स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा दीर्घकालीन विकास योजनालाई प्राथमिकता दिनु पर्ने, बजेट विनियोजनमा जनतासँगको परामर्श अनिवार्य बनाउनु पर्ने, तथा नागरिक निगरानी र जवाफदेहिता प्रणाली प्रभावकारी बनाउनुपर्ने धारणा उठाइएको थियो।






