ईश्वर थापा मगर
धादिङबेसी, असार — राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ धादिङमा जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ।

धादिङबेसीस्थित सिटी हलमा बुधबार सम्पन्न उक्त कार्यक्रम जिल्ला खोप समन्वय समिति, धादिङको आयोजनामा भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति तथा खोप समन्वय समिति धादिङका अध्यक्ष नवराज अधिकारीको अध्यक्षता रहेको थियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री किरण थापा प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा खोप कार्यक्रमको दिगोपनका सन्दर्भमा विभिन्न तह तथा निकायहरूसँगको समन्वयबाट प्राप्त उपलब्धिहरूको समीक्षा गरिएको थियो। साथै, आगामी दिनमा खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउने रणनीतिमाथि विस्तृत छलफल गरिएको थियो।

स्वास्थ्य मन्त्री थापाले सम्बोधन गर्दै स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको साझा प्रयासले खोप कार्यक्रम उल्लेखनीय रूपमा सफल भएको बताउनुभयो। साथै, दिगो विकासका लागि खोप कार्यक्रमलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न खोप कार्यक्रमलाई उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो।

अध्यक्ष अधिकारीले जिल्लामा खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीचको समन्वय सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा, संघसंस्था र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनको लक्ष्यप्रति साझा प्रतिबद्धता जनाएका थिए।






