धादिङ — मुग्लिन–पोखरा सडक सुधार परियोजना अन्तर्गत सहयात्री समाज नेपालको आयोजनामा सामाजिक सचेतना तथा जीविकोपार्जन कार्यक्रम सम्पन्न भएको छ।
शुक्लागण्डकी नगरपालिकाभित्र पर्ने जनकल्याण माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा एचआईभी/एड्स, मानव बेचबिखन, यौनजन्य हिंसा तथा दुव्र्यवहार, लागूऔषधको दुरुपयोग र सडक सुरक्षाजस्ता महत्वपूर्ण सामाजिक तथा स्वास्थ्यसम्बन्धी विषयमा चेतनामूलक जानकारी प्रदान गरिएको सहयात्री समाज नेपालले जनाएको छ।
सामाजिक परिचालक गीता खनाल र ऋषि दुवाडीले सहभागी विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै व्यवहारिक दृष्टान्तसहित जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूमा सामाजिक संवेदनशीलता अभिवृद्धि गर्नुका साथै व्यक्तिगत सुरक्षा र सचेतनाका कुरामा जागरुकता देखिएको आयोजकले बताएको छ।






