यो कस्तो मायाँ हो ?
रात्रिकालिन यात्रा नगरेको दशकौ भैसकेको रहेछ । यसपटक भने मलेखु देखि पूर्वको धरान सम्मको यात्रा गर्ने अवसर जुर्यो । रैथाने खाना महोत्सव गलौदी जाने वहानामा रात्रिसेवाको सबै बेलिबिस्तार बुझिसकेको थिएं । फोनबाट नै टीकट बुकिङ भयो । २०८१ साल चैत्र ३० गते सांझ घरबाट भतिज केटोलाई साथलिइ मलेखु पुगे । तोकिएकै समयमा बस आइपुग्यो । मलाई ३ नं को सिटले पर्खि बसेको रहेछ । अर्को सिटमा एकजना युवा साथी थिए । कुरा गर्दै जांदा उनी सुनसरी ईनरुवाका ईन्जिनियर भाई रहेछन् । भरखर मात्र काठमाण्डौ तिनकुनेमा एक प्रइभेट कम्पनिमा जागिर सुरु गरेका । कामकै सिलसिलामा घरकाज बनाइ ईनरुवा जानलागेका । मेरालागि परीपक्क साथी भैहल्यो नि ! बस भित्र कोही डेकमा हिन्दी सिनेमा हेर्दै थिए , कसैका आंखा लोलाइरहेका त कोही मस्त निद्रामा । हाम्रो बस भने रफ्तारमा दौडिरहेको थियो ।
करीब रातको १० बजे तिर रामनगरमा खानाकोलागि बस रोकियो । आधा घण्टाको खाना पछी हाम्रो ड्राइभरले गाडी दौडाउन सुरु गरे । भरखर खाना खाएका यात्रुहरु कोही सुत्ने तरखरमा थिएकोही आफ्नै मोबाइलकै धुनमा मस्त । म चांहि घरमा सधै चांडै नै सुत्ने बानि परेको , आंखा चिम्म गर्दै निदाउने प्रयास गर्दै थिए । जतिसुकै निदाउन कोसिस गरेपनि अगाडि पछाडिका साथीहरुको हल्ला र गफले बिउंझिहाल्थे । बेला बेलामा झ्याप्प निदाउदै बिउझिदै गर्दागर्दै छ्याङ्गै रात गएछ । चिया नास्ताको लागि भन्दै सप्तरीको बरमुढामा बस रोकियो । घडी हेरेको बिहानको ४ बज्न लागिसकेको रहेछ । अरुहरु चिया नास्ता तिर लागे आफू भने सधै बिहान गर्ने नित्य कर्मतिर लागें । हातमुख धोई फर्कदा त सबै यात्रुहरु आ-आफ्नो सिटमा गै बसिसकेका । गाडीले पनि हर्न बजाइरहेको थियो । म हतार हतार पेडा मिठाई किनि बसभित्र लागें । चिया नास्ता त भ्याए पो खाने ?
कोशी ब्यारेज बाट हाम्रो बस रफ्तारमा अगाडि बढ्दै थियो , यसै बिच संगैको ईन्जिनियर भाई ईनरुवामा फेरी भेटौला अंकल भन्दै झरे । दुईजनाको सिटमा म एक्लै भएं । हाम्रो बस ईटहरी बाट धरान तर्फ मोडियो । ईटहरी देखि धरान सम्म को सडक ६ लेनको चौडा बनाइएको रहेछ । हेर्दा पनि मनमोहक । सबैतिर त्यतिकै चौडा सडक कहिले हुन्छ होला ? भन्ने कुरा मनमा लिदालिदै बिहानको साढे आठमा धरान बसपार्क पुगे । ” ल है धरान बसपार्क आइपुग्यो सबै उत्रनुहोला , अब गाडि ग्यारेज जान्छ ” – सहचालकले हामीतर्फ हेरी भन्नलागे । बाहिर ओर्लने पो कसरी ? त्यसै बेला बाहिर तिर भने पानी दर्कन सुरु भयो । बस बाट झरौ पानीले निथ्रुक्कै पार्ला भन्ने डर , नझरौ त गाडि ग्यारेज जान्छ भन्छ परेन फसाद ! तै त्यसै बखत एकजना भाई ठूलो छाता ओड्दै भोजपुर भोजपुर भन्दै बसको ढोका तर्फ आउदै थियो । मलाइ त ढुङ्गा खोज्दा देवता मिले जस्तै भयो । म उसकै छाताको ओतमा पछीपछी लागें। म भोजपुर जाने जीपको सिटमा बसे । जीपको सिट खालिखालि जस्तै थियो । १० , १५ मिनेट पछी हाम्रो जीप भेडेटार हुदै धनकुटा तिर बढ्यो । धरान बजारमा घुम्ने , चिया नास्ता गर्ने अवसरनै भएन पेट खालि नै रह्यो । पाख्रिबासमा खानाको लागि गाडि रोकियो । म ड्राइभरसंगै खाना खान लागे । गाडि पनि चार्जिङ स्टैशनमा बेट्री चार्जमा राखियो । बेट्रीचार्ज र खाना एकैचोटी भयो । खाना पछि हामी मध्यपहाडी लोकमार्ग हुंदै लेबुवाघाट तर्फ बढ्यौं । लेबुवाघाट बाट एउटा सडक अरुणको किनारै किनार संखुवासभा तर्फ जान्छ भने अर्को सडक अरुणनदी माथिको पुल तरी जरायो टार हुंदै भोजपुर तर्फ लाग्छ ।
धरान हुंदै भोजपुर तिर लागेको मेरो दोस्रो पटकको यात्रा थियो । पहिलो पटक आउदा हिले देखिनै केही केही ठाउंहरुमा सडक पक्की बन्ने क्रममै थियो । तर यसपटकको यात्रामा भोजपुरसम्म नै पक्की सडक देख्दा धेरै खुसि लाग्यो । लगभग ६ घण्टाको निरन्तर रफ्तार गर्दै हामी सवार जीप दिनको २ बजे तिर डांडाबजार भोजपुर मा गै रोकियो । मध्य दिनमै भोजपुर पुगें । पुस माघमा भए अझै सिंगै १ दिन बांकी थियो । म भिन्तुना होटलको रुममा गै बसें । यो डाडाबजार कै ठूलो घर मध्य एक रहेछ । एकातर्फ रातभरीको निद्रा पनि अर्को तर्फ आफ्नो मान्छेलाई भेट्न हतार मन । आ एकरात निद्रा मायां मारेर केही हुदैन जान्छु नानी भेट्न भनि म कपडा फेरी रुमबाट बाहिर निस्किए । तल पसलमा होटलका साहु बा हुनुहुन्थ्यो । संयोगले ४ वर्ष अगाडि बसेकै होटलमा परेछ । साहु बा फरासिलो रहेछन्। भोजपुर आउनुको सबै कारण बताएं । उहासंग भेट भएर मलाई ज्यादै सजिलो भयो । मलाई भोजपुर अस्पताल जानु थियो । अस्पतालको प्रमुख उहाकै भान्जी डा. पवित्रा रहिछिन् । अस्पतालको ओरालो बाटो झर्दैगर्दा फेरी पानीको वर्षा सुरु भयो । म रुज्दै भिज्दै अस्पताल पुगें । अस्पतालमा नयां वर्ष २०८२ को शुभकामना कार्यक्रम चल्दै रहेछ । म लुसुक्क नजिकैको प्रशाशन कक्षमा गै बसें । सबै स्वस्थ्यकर्मी , कर्मचारीहरु संगै रहेको कुरा थाहा पाएं ।
अस्पताल प्रमुखले कार्यक्रम सकेपछिभेट्ने कुरा भयो । कार्यक्रम समापन पछि उहां मलाई भेट्न आउनु भयो । सामान्य सिष्टाचार अभिवादन गर्दै मैले नानीलाई बोलाइदिन अनुरोध गरें । मेसु म्यामको फोन पछि उनी आफु बस्ने क्वाटर तर्फ हिडिसकेकी पनि फर्किएर आइन् । मैले एउटा कुराको चिटिङ गरीरहेको थिए । रगतको नाताले नभए पनि अन्तरआत्मा देखि श्रद्नाले बनाएको छोरी , देवी जस्तै पूजा गरेर बनाएको छोरी ! कालो गोरो होचो अग्लो मलाई के मतलव ? मायां नै मायांले बेरीए पछी कुनै भूगोल र बिघ्नताले छेक्दो रहेनछ । शरिरले भोक तिर्खा पनि थाहा पाउदो रहेनछ । हैन यो कस्तो मायां हो ? मलाई मात्रै होकि अरुलाई पनि यस्तै हुन्छ ? एक डेढ वर्ष अगाडि उनी त्यत्तिकै मसंग टाढा बनिरहेकी थिइन् । यस पटक म उनीलाई खबरै नगरी भेट्न गएको थिएं ।फोन गरुं केही भन्ने पो हो कि ? फेरी नयां वर्षको सर्प्राईज भेट हुंदा पनि त रमाईलै हुन्छ नि भन्ने लाग्यो । मेरी नानी कोठा भित्र प्रवेश गरीन् । म बेन्चमै पर्खि बसेको थिए । एक्कासि मलाई देख्दा उनी आश्चर्य चकित बनिन् । एक आपसमा अभिवादन भयो । ” उहां मेरो बुबा हुनुहुन्छ ! ” उनीले नै मेरो परिचय दिइन । एकछिन कोठामा सन्नाटा छायो । मेरो भने खुसिले मन चौडियो , गहभरी आंसु भरीए । कसैले नदेख्न्ने गरी आंसु पुछे । सगरमाथा बिजय गरे भन्दा पनि बढी खुसि । मलाई हेर्ने नजरमा सबै डाक्टर कर्मचारीहरुको परिवर्तन भयो । सबैले सरी बुबा हामीले चिनेनौ भन्ने कुरा गरे । सबैसंग म घेरिए मायामा बेरिएं । कस्तो रमाईलो ? सबैमा नयां बर्षको शुभकामना र आशिर्बाद चढाउदै साथमा ल्याएको मिठाई कोशेली बांडे । अरु त के नै दिन सक्थे र म । डा. पवित्रा, अमृतासंगै केहीथान फोटो खिचियो अनि सांझको खाना पनि संगसंगै । सामान्य भलाकुसारी सन्चोबिसन्चोका कुराकानी भयो । नानीलाई खासै फुर्सद रहेनछ । उनी सधै पढाईकै तयारीमा । मौसम पनि त्यति अनुकुल थिएन । भोली बिहानै हिड्ने कुरामा सहमत भयो । सोही हातले माथ सुम्सुम्याउदै बिदा मागे ।
नयां बर्षको पहिलो दिन कुखुराको डांकमै भोजपुर बजारलाई परिक्रमा गरी खोटाङको बाटो हुदै काठमाण्डौको यात्रामा निस्किए । यात्रा भरी कहि कतैबाट बाधा अवरोध भएन । नयां बर्षको पहिलो दिन भोजपुरको चखेवा भन्ज्याङ र खोटाङमा स्थानीय महोत्सव रहेछ । यूवा यूवतीहरु स्थानिय भेष भुषामा सजिएर मेला भर्न जम्मा हुदै थिए । हाम्रो गाडि खुर्कोट, नेपालथोक हुंदै रोसीखोला किनारै किनार धुलिखेल आइपुग्यो । दैवसंयोग नै भन्नु पर्छ कही कतै अवरोधको सामना गर्नु परेन । गाडिका साहु ड्राईबर पनि आफ्नै घर भैसेपाटी जानु रहेछ । काठमाण्डौको कोटेश्वरमा सबै यात्रुहरुलाई ओराली ड्राईभर र म भने कलंकि खसि बजार तिर लाग्यौ । किन हो कुन्नि उनी मलाई कोठासम्म नै पुर्याई दिन्छु भन्दै थिए मैले नै किन दुख दिनु जस्तो लाग्यो र त्यही उत्रिए । त्यसो त बाटो भरी उनी र म संगै खाने मिठामिठा गफ गर्ने जस्ताकार्यले आत्मियता साटासाट भैसकेको थियो । यता कोठामा बाबु नानीहरु मलाई पर्खि बसेका ।
अर्चनाले नयां वर्षको उपलक्षमा भन्दै मिठो खाना खुवाईन् । १५ घण्टाको निरन्तर यात्राले गर्दा थकाइ ज्यादै लागिरहेको थियो नानी बाबुहरु कुरा गर्दै थिए आफू भने बिस्तारामा भुसुक्कै । भोलीपल्ट बिहानै धादिङ लाग्नु थियो । बिहानको पहिलो बसमै लगभग १६०० किमी को लामोफेरो लगाउदै यात्राको पाचौ दिनमा घर फर्किए । यस पटकको मेरो भोजपुर यात्रामा पनि म एक्लै भए पनि यात्राभरी एक्लोपन महसुस गर्न परेन । यात्राभरी थरीथरीका साथीहरु र उनीहरुका ब्यबहार पाएं । जसले मेरो यात्रालाई रोचक र सधैका लागि अविश्मरणिय रह्यो ।






