धादिङ उत्तरी धादिङको अति विकट रुवीभ्याली गाउँपालिका–४ स्थित हिन्दुङ गाउँबाट एक दिनको पैदलयात्रा पश्चात पुगिने कालो र सेतो दह क्षेत्रको पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ। धार्मिक, प्राकृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यी दहहरू गणेश हिमालको ठीक तल अवस्थित छन्।

पूर्व पर्यटनमन्त्री माननीय हित बहादुर तामाङको विशेष पहलमा रुवीभ्याली गाउँपालिकाको सक्रियतामा आर्थिक वर्ष २०८१/८२ मा विनियोजित शर्तसहितको बजेटबाट दह वरिपरि पदमार्ग, विश्राम घर, शौचालय तथा दह पुग्ने पदमार्ग निर्माण गरिएको रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिनुभयो।

नाम जस्तै देखिने कालो र सेतो रंगका यी दुई दहहरू वरिपरि अत्यन्तै फराकिलो र हरियाली चरन क्षेत्र फैलिएको छ, जसले पर्यटक र गाईवस्तु चराउने स्थानीय बासिन्दालाई आकर्षित गर्दै आएको छ।

स्थानीयहरूका अनुसार, कालो दहसँग एउटा अनौठो विश्वास पनि जोडिएको छ—दहको माथिबाट चराचुरुङ्गी वा यान्त्रिक उडान गर्ने जहाजहरू उडेमा सिधै दहमा खस्ने विश्वास गरिन्छ। यसले उक्त दहको रहस्यपूर्ण र धार्मिक महत्त्वलाई अझ बढाएको छ।

अझ चाखलाग्दो पक्ष के छ भने, “फिस्टे” नामक विशेष चराले दह वरिपरि पर्ने फोहोर—जस्तो कि पातपतिंगर—उडाएर सफा गर्ने गरेको गाउँलेहरू बताउँछन्। स्थानिय विश्वास अनुसार, यी चरा दह क्षेत्रलाई सफा र पवित्र राख्ने कार्यमा प्राकृतिक “पहरा” जस्तै छन्।

संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा रुवीभ्यालीका अन्य पर्यटकीय स्थलहरूको पूर्वाधार विकास कार्य पनि क्रमशः अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ। कालो र सेतो दह क्षेत्रको विकासले धादिङमा आन्तरिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0