धादिङ — धादिङको ज्वालामुखी गाउँपालिकाले कृषकहरूको उत्पादनशक्ति वृद्धि र कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमनाथ दैलेले कृषकहरूलाई सो उपकरण हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अध्यक्ष दैलेले कृषि क्षेत्रको विकास विना समग्र गाउँको समृद्धि सम्भव नभएको उल्लेख गर्दै कृषि यान्त्रीकरण र बजारिकरणका लागि गाउँपालिकाले विशेष योजना बनाई कार्यान्वयन गरिरहेको बताए। उनले वितरण गरिएका टिलर तथा ट्र्याक्टरको सही सदुपयोग गर्न आग्रह गर्दै मर्मतसम्भार तालिमको समेत व्यवस्था गरिने जानकारी दिए।
उक्त कार्यक्रममा उपाध्यक्ष धर्मबहादुर अर्याल, वडा अध्यक्षहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
त्यसै दिन, वडा नम्बर ५ मा ७ हजार २ सय ५० बोट सुन्तला बिरुवा वितरण गरिएको छ। सुन्तला उत्पादनलाई व्यावसायिक बनाउन र वडा ५ लाई ‘सुन्तला प्याकेट क्षेत्र’ को रूपमा विकास गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ। साथै किसानहरूलाई मल र कृषि औजारसमेत वितरण गरिएको थियो।
यसैबीच, आइतबार नै धान दिवसको अवसर पारेर वडा नम्बर ७ को जलकिनी फाँटमा धान रोपाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा कृषकहरू, जनप्रतिनिधिहरू तथा स्थानीय बासिन्दाले सामूहिक रूपमा रोपाइ गरी दही-चिउरा खाएर धान दिवस मनाएका थिए।






