काठमाडौं, असार २७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुराना नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको ८७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका घर्तीमगरको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो।
घर्तीमगर हाल राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए। पञ्चायतकालमा उनी पटक–पटक मन्त्री बनेका थिए। कुल ११ पटकसम्म मन्त्री पद सम्हालेका घर्तीमगर नेपालको राजनीतिमा धैर्य, इमान्दारिता र सेवाभावको परिचय बनेका थिए।
रोल्पाबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा
वि.सं. १९९४ साल साउन १८ गते सोमबारको दिन जन्मिएका बालाराम घर्तीमगर तत्कालीन प्युठान जिल्ला, बाइसखुवाथुम अन्तर्गत मिझिङ मौजाको उपल्लोथर (हाल रोल्पा जिल्ला, सुनिलस्मृति गाउँपालिका) मा जन्मिएका थिए। उनी बुबा नरबहादुर घर्तीमगर र आमा टीकाकुमारी घर्तीमगरका जेठो सन्तान हुन्।
शैशवकालमा बाजे सन्त के घर्तीमगरसँगै हुर्किएका बालारामले बाल्यकालमै कखरा र जीवनको मूल्यमान्यता सिके। बाजेप्रतिको श्रद्धाले उनलाई जीवनभर प्रेरणा दिएको थियो। ‘मेरो बाजे सबै कुराको ज्ञान राख्नुहुन्थ्यो,’ भन्दथे उनी, ‘गाउँलेहरू सल्लाह र सहयोग माग्न उहाँकहाँ आइरहन्थे।’
आदर्श राजनीतिज्ञको जीवन
राजनीतिक जीवनमा घर्तीमगर कहिल्यै लोभ र द्वेषमा फसेनन्। उनले सधैं सादगीपूर्ण जीवन जिए, सेवामूलक राजनीति गरे र आम जनताको पक्षमा सधैं उभिए। उनी न हार मान्थे, न कसैलाई धोका दिन्थे। कलिलो उमेरदेखि नै सामाजिक चिन्तन–मननमा लागेका घर्तीमगरले राष्ट्रिय राजनीतिमा आफूलाई एक आदर्श नेता बनाएका थिए।
रोल्पाको विकट भूगोलबाट राष्ट्रिय राजनीतिमा उदाउन सहज थिएन। तर, उनले आफ्नो दृढता, इमान्दारिता र सेवा भावनाका कारण नेपाली राजनीतिमा एउटा पृथक पहिचान बनाएका थिए।






