धादिङ — स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकहरूको सेवा पहुँचलाई थप सहज, सरल र प्रभावकारी बनाउन ‘प्रथम सेवा विन्दु’ सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ।
बोर्डले धादिङ जिल्लाका पाँच वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुका रूपमा सूचिकृत गरेको छ। ती संस्थाहरूमा बैरेनी अस्पताल, फुलखर्क ग्रामीण अस्पताल, धादिङ अस्पताल, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र छन्।
बोर्डका अनुसार यो नयाँ व्यवस्था २०७२ साउन १ गतेदेखि लागू हुनेछ।
अहिलेसम्म बीमितले बीमा गर्दा छनोट गरेको एउटै सेवा विन्दुबाट मात्र स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता थियो। यसले बीमित नागरिकहरूलाई आफ्नो स्थायी बसोबास बाहिरको स्थानमा सेवा लिँदा कठिनाइ हुने गरेको थियो।
अबदेखि स्वीकृत ‘प्रथम सेवा विन्दु’ भएका जुनसुकै स्वास्थ्य संस्थाबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ।
यसका लागि स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा आवश्यक संशोधन गरिएको हो। बोर्डले यो निर्णयले नागरिकहरूलाई देशभर जहाँ भए पनि नजिकको सेवा प्रदायक संस्थाबाट बीमा सुविधा लिन सहज हुने जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले यो नयाँ व्यवस्थाले बीमा सेवा प्रभावकारी हुने र नागरिकको स्वास्थ्य अधिकार अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।






