काठमाडौं , संवाददाता

नेपाल पर्वतारोहण संघ (NMA) को आगामी भदौ ७ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले राजधानीको ठमेलस्थित यात्री सुइट्स होटलमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा लोकतान्त्रिक मूल्य, सहभागिता, र साझा दृष्टिकोण निर्माणका विषयमा बहस हुँदै पूर्व महासचिव कुल बहादुर गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्ष पदका उम्मेदवारका रूपमा घोषणा गरिएको हो।

उम्मेदवारी घोषणा गर्दै गुरुङले आफ्नो नेतृत्व दीगो, पारदर्शी र समावेशी हुने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नेपालको पर्वतीय पर्यटनको दीगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधार मेरा प्राथमिकता हुन्। म अनुभव, कार्यदक्षता र साझा नेतृत्वको माध्यमबाट NMA लाई अझ प्रभावशाली र उत्तरदायी बनाउनेछु।”

तीन दशकभन्दा बढी समयदेखि पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशील गुरुङले नेपाल पर्वतारोहण संघ (NMA) का महासचिव, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) का उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (UIAA) का व्यवस्थापन समिति सदस्यको रूपमा उल्लेखनीय भूमिका निर्वाह गरिसकेका छन्।

त्यस्तै, उनी पर्यटन व्यवसायी संघ नेपाल (GTEAN) र गणेश हिमाल पर्यटन विकास समिति (GHTDC) का संस्थापक अध्यक्ष, हिमालयन समुदायहरूको जलवायु (CAHC) का सचिव, किवानिस नेपाल जिल्लाका मास्टर ट्रेनर तथा एलाइन्स ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा.लि. का प्रबन्ध निर्देशक समेत हुन्।

उनको उम्मेदवारी पर्यटन व्यवसायी, गाइड, आरोहण सहयोगी (शेर्पा) तथा अन्य सरोकारवाला पक्षबाट सकारात्मक रूपमा स्वागत गरिएको छ। संघको निर्वाचन आगामी भदौ ७ गते (२३ अगस्ट २०२५) तय भएको छ। उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किंदै जाँदा, गुरुङको नेतृत्वको दाबीले पर्यटन क्षेत्रभित्र व्यापक चासो र समर्थन बटुलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0