धादिङ, साउन २२ — नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ देखि ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई पूर्ण रूपमा नि:शुल्क स्वास्थ्य विमा दिने निर्णय गरेको छ।
नीलकण्ठ अपाङ्गता समन्वय समितिको साउन २१ गते बसेको बैठकले यो निर्णय पारित गरेको हो। उक्त निर्णय अनुसार अनुमानित २७५ जना ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य विमा खर्च अब नगरपालिकाले शतप्रतिशत व्यहोर्नेछ।
समितिका संयोजक दिपक विश्वकर्माका अनुसार, “क वर्गका लागि संघीय सरकार, ख वर्गका लागि प्रदेश सरकार, र ग वर्गका लागि नीलकण्ठ नगरपालिकाले विमा रकम व्यहोर्ने व्यवस्था गरिएको छ।”
पछिल्लो वर्षसम्म ग वर्गको विमा खर्च ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत सेवाग्राहीले बेहोर्दै आएका थिए। तर अब नगरसभाको निर्णय अनुसार सम्पूर्ण विमा शुल्क नगरपालिका आफैंले तिर्नेछ।
यस कार्यक्रमबाट एकजना अपाङ्गता भएका व्यक्तिसहित ५ सदस्यसम्मको परिवारले प्रत्यक्ष लाभ पाउनेछन्।
नगरपालिकाले १४ वटै वडामा पत्राचार, मिडियामार्फत प्रचार–प्रसार, तथा ग वर्गका व्यक्तिहरूलाई सेवा लिन आह्वान समेत गरिसकेको छ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख उर्मिला थपलियाका अनुसार, “अब अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिनेछ।”
अपाङ्गता क्षेत्रमा सेवा र सहुलियत दिन स्थानीय सरकारले नीति निर्माण गर्न सक्ने भए पनि अतीतमा आलटाल गरिँदै आएको थियो। अपाङ्गता अभियन्ता र स्थानीय जनप्रतिनिधिको पहलमा नीलकण्ठ नगरपालिकाले देखाएको यो उदाहरणीय प्रयासलाई अन्य पालिकाहरूले पनि अनुकरण गर्नु पर्ने देखिन्छ।






