पाल्पा । जिल्लामा बाँदर र बँदेलजस्ता वन्यजन्तुले अन्नबाली सखाप पारेपछि हैरान भएका किसानहरूले अब टिमुर खेतीलाई विकल्पका रूपमा रोजेका छन्। मकै, कोदो, गहुँजस्ता परम्परागत बाली जोगाउन नसकेपछि उनीहरूले व्यावसायिक रूपमा टिमुर खेती थालेका हुन्। यसले बाली जोगाउनुका साथै मनग्य आम्दानीसमेत दिएको छ।
वन्यजन्तुको आतंकले वर्षभरिको मिहिनेत विफल भएपछि धेरै किसानहरूले आफ्ना बारी र बाँझो जमिन टिमुर खेतीतर्फ मोडेका छन्। किसानहरूको भनाइमा “बाली जोगाउनै नसकिने भएपछि टिमुर रोजेका हौं, यसबाट आम्दानी पनि राम्रो छ।”
हाल पाल्पामा दुई हजारभन्दा बढी किसान टिमुर खेतीमा संलग्न छन्। उनीहरू वार्षिक १ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। सहरी क्षेत्रमा मसला, अचार तथा औषधिका रूपमा टिमुरको बढ्दो मागले किसानलाई सहजै बजार र उचित मूल्य उपलब्ध गराएको छ।
डिभिजन वन कार्यालय पाल्पाले पनि टिमुरलाई दीर्घकालीन फाइदा दिने बालीका रूपमा प्रवर्द्धन गर्दै किसानलाई बिरुवा वितरण गरिरहेको छ। एकपटक लगाएको टिमुर वर्षौंसम्म उत्पादन दिन सक्ने र वन्यजन्तुले क्षति नगर्ने भएकाले यसलाई पाल्पाका किसानका लागि वरदानको रूपमा हेरिएको छ।






