धादिङ, भदौ ९ ।
सिद्धलेक गाउँपालिकाको शिक्षक सरुवा तथा विद्यालय समायोजनसम्बन्धी समाचार प्रकाशित भएको विषयलाई लिएर दुई पत्रकारमाथि गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले कडा आपत्ति जनाएको छ।
महासंघले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तथा धादिङ न्यूज डटकमका प्रधान सम्पादक केशव अधिकारी र महासंघ धादिङका सदस्य एवं वागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई गाउँपालिका अध्यक्ष खतिवडाले प्रहरी प्रयोग गरी कार्यकक्षमा बोलाई अपमानजनक व्यवहार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
२०८२ साउन २९ गते बसेको गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार शिक्षक सरुवा र विद्यालय समायोजन भएको समाचार दुवै सञ्चारमाध्यमले भदौ ३ गते प्रकाशन गरेका थिए। धादिङन्यूजले “सिद्धलेकको ९ वटा विद्यालय बन्द” शीर्षकमा र वागमती कलमले “सिद्धलेकमा ९ वटा विद्यालयको समायोजनः २८ जना शिक्षकको सरुवासँगै विद्यालय वर्गिकरण” शीर्षकमा समाचार प्रकाशित गरेका थिए। गाउँपालिकाले आफ्नै वेबपोर्टलमा राखेको सूचनालाई आधार बनाएर समाचार लेखिएको भए पनि अध्यक्ष खतिवडाले पत्रकारलाई टेलिफोनमार्फत धम्की दिई कार्यकक्षमा उपस्थित गराई दुव्र्यवहार गरेको महासंघले जनाएको छ।
“समाचारमा कसैलाई आपत्ति भए त्यसलाई न्यायिक निरुपण, खण्डन वा प्रेस काउन्सिलमार्फत उजुरी गर्ने व्यवस्था छ। तर विधि र प्रक्रिया विपरीत गाउँपालिका अध्यक्षले गरेको व्यवहार अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ।
महासंघले यस्ता गैरकानूनी कार्य नगरप्रमुखले नगर्न र भविष्यमा पनि नदोहोर्याउन चेतावनी दिएको छ। साथै, सञ्चारमाध्यमलाई दबाब होइन सहकार्य गरेरै विकास र समृद्धिको आधार तयार गर्नुपर्नेमा जोड दिएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका अध्यक्षलाई कानूनले निषेध गरेका गतिविधि बन्द गर्न र विधि–नियमअनुरूप आचरण गर्न आग्रह गरिएको छ।






