काठमाडौं – जेन–जी आन्दोलनका क्रममा युवाको ज्यान गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह खुलेरै प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोस्टमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधै “आतङ्कवादी” संज्ञा दिएका छन्।
बालेनले आफ्नो पोस्टमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्।”
उनको यो आक्रामक अभिव्यक्ति केही घण्टामै भाइरल बनेको छ। पोस्टमा करिब पाँच लाख प्रतिक्रियासहित एक लाखभन्दा बढी कमेन्ट र ९० हजार शेयर भएको देखिन्छ।
जेन–जी आन्दोलनमा भएको गोली प्रहार र युवाको मृत्युपछि फैलिएको जनआक्रोशबीच बालेनको टिप्पणीले थप बहस र चासो बढाएको छ। उनले प्रयोग गरेको ह्यासट्याग #kpoliisterrorist अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेको छ।
विशेषज्ञहरूले यसलाई “राजनीतिक नेतृत्वमाथिको जनअसन्तोषको प्रतिविम्ब” भनेर मूल्याङ्कन गरिरहेका छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेनलाई “निडर आवाज” भन्दै समर्थन जनाइरहेका छन्।






