काठमाडौं, २४ भदौ —
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अधिकारीले मंगलबार (२४ भदौ) एक सार्वजनिक वक्तव्य जारी गर्दै सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा गरेको घोषणा गरेका हुन्।
अधिकारीले आफ्नो वक्तव्यमा गत २३ भदौमा मुलुकभर भएका विद्यार्थी तथा युवापुस्ताको आन्दोलनप्रति सरकारले देखाएको दमनकारी व्यवहारप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्। उनले भने,
“देश निर्माण गर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार हुन पुग्यो। स-साना कलिला छोराछोरीको हत्या र दमन पश्चात् सरकारमा बसिरहन मेरो नैतिकताले अनुमति दिएन।”
उनले नागरिकको जीवन र अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको आधारस्तम्भ ठहर गर्दै सत्तापक्षले असहिष्णुता देखाएर मुलुकलाई तानाशाहीतर्फ धकेलिरहेको आरोप लगाए। अधिकारीले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्पष्ट गर्दै त्यसको बदला बल प्रयोग र हत्या गर्नु अस्वीकार्य रहेको उल्लेख गरेका छन्।
नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहासप्रति गर्व व्यक्त गर्दै उनले पार्टीको सिद्धान्त अनुसार आफूले पदमा टाँसिइरहनुभन्दा जनतासामु उत्तरदायी हुने बाटो रोजेको बताए।
अधिकारीले राजीनामा दिएसँगै सरकार थप दबाबमा पर्ने देखिएको छ। पछिल्लो समय व्यापक भ्रष्टाचार, असहिष्णुता र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध युवापुस्ताले देशभर आन्दोलन गरिरहेका छन्।






