धादिङ, भदौ २४ –
जेन–जी आन्दोलनप्रति एकजुटता जनाउँदै धादिङका विभिन्न स्थानमा आज विरोध प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले “केपी चोर देश छोड”, “हत्यारा सरकार मुर्दावाद”, “जनता मार्न पाईदैन”, “हत्यारा सरकार राजीनामा दे” लगायतका नारा लगाएका थिए।

सदरमुकाम धादिङबेसीसहित मलेखु बजार, सिम्ले बजार, धार्के बजारलगायतका ठाउँमा एकैसाथ प्रदर्शन गरिएको हो। स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको प्रदर्शनमा सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको थियो।
२३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनाको विरोधस्वरूप धादिङमा प्रदर्शन गरिएको प्रदर्शनकर्ताहरूले बताएका छन्। उनीहरूका अनुसार निर्दोष युवाको रगत बगाएको घटनाको न्याय पाउन र जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको माग गर्दै सडकमा उत्रनु परेको हो।

प्रदर्शनका कारण बजार क्षेत्रको जनजीवन केही समय अवरुद्ध भए पनि कुनै अप्रिय घटना भने नघटेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।






