काठमाडौं । जेनजि आन्दोलनको बलमा कुलमान घिसिङ ऊर्जा मन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको शपथ गराएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट चैत ११ गते बर्खास्त गरेको थियो। त्यसको झन्डै साढे पाँच महिनापछि उनी ऊर्जा मन्त्रालयको जिम्मेवारीमा पुगेका हुन्।

घिसिङ २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। यसअघि २०७३ साल असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माको कार्यकालमा उनले पहिलोपटक प्राधिकरणको नेतृत्व सम्हालेका थिए।

नेपाललाई लोडसेडिङमुक्त बनाउन निर्णायक भूमिका निर्वाह गरेका घिसिङ आम नागरिकबीच लोकप्रिय छन्। प्राधिकरणमा कार्यरत रहँदा उनले ‘लोडसेडिङ अन्त्यका अभियन्ता’को रुपमा व्यापक प्रशंसा पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0