काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की महिला नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । पार्टीभित्र देखिएका कमजोरी, नेतृत्वको शैली तथा आन्तरिक लोकतन्त्रको अभावप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत “I QUIT” भन्दै राजीनामा सार्वजनिक गरेकी हुन् ।

श्रेष्ठले पार्टी नेतृत्वलाई कहिल्यै गल्ती स्वीकार नगर्ने, निरन्तर गल्ती माथि गल्ती गर्ने र त्यसको बोझ पार्टीका कार्यकर्ताले बोक्नु पर्ने प्रवृत्ति बढेको आरोप लगाएकी छिन् । पार्टीभित्र आलोचना गर्ने नेताहरूमाथि उल्टै “मिडिया ट्रायल” गर्ने प्रवृत्ति स्थापित भएको भन्दै उनले आपत्ति जनाएकी छन् ।

“जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यही बेलादेखि नै आलोचना गर्दै आएकी हुँ । तर त्यसले फरक पारेन, बरु उल्टै मिडिया ट्रायल हुन थाल्यो, जुन स्विकार्य छैन,” श्रेष्ठले आफ्नो वक्तव्यमा भनेकी छन् ।

उनले पार्टीलाई खुलेर आलोचना गर्ने साहस देखाएकी नेताहरूलाई सहजै आक्रमण गर्ने वातावरण तयार पारिएको आरोप लगाउँदै, “मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्, तर अब मसँगै होइन । मैले पार्टी छोडेँ,” भनेकी छिन् ।

सुमना श्रेष्ठले केवल आफ्नै पार्टी मात्र नभई परम्परागत दलहरू — कांग्रेस र एमाले — का तेस्रो पुस्ताका नेताहरूमाथि समेत प्रश्न उठाएकी छन् । उनले वर्तमान राजनीतिक संकटका लागि पुरानो नेतृत्वको ‘बहेरो’ सोच जिम्मेवार रहेको बताउँदै, “अब नेताहरूलाई पूज्ने काम बन्द गर्नुपर्छ । कि हटाउनुहोस्, कि हट्नुहोस्,” भन्दै कडा सन्देश दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0