धादिङ । गल्छी गाउँपालिका–२, केउरेनीस्थित रक्तवच्छला आधारभूत विद्यालयका अभिभावक र विद्यार्थीहरूले शिक्षक सरुवा प्रक्रियामा भएको अनियमितता र विद्यालयमा पठनपाठन ठप्प भएको विरोधस्वरूप आइतबार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
विद्यालयमा गणित विषयका शिक्षक रूपक खतिवडालाई दरबन्दीसहित जनकल्याण माध्यमिक विद्यालयमा सरुवा गरेपछि डेढ महिनादेखि गणित विषय अध्यापन ठप्प भएको स्थानीयले बताएका छन्।
अभिभावक र विद्यार्थीहरूले पटक–पटक गाउँपालिकामा निवेदन र विज्ञप्ति दिए पनि नयाँ शिक्षक नआएपछि आइतबार बिहान १० बजेदेखि गाउँपालिका अध्यक्षको कार्यकक्षमा धर्ना बसेका थिए। माग सम्बोधन नभएपछि आक्रोशित अभिभावक र विद्यार्थीहरूले कार्यकक्षमै तालाबन्दी गरेका हुन्।
विद्यालयका अभिभावक समितिले शिक्षक सरुवा प्रक्रिया पारदर्शी नभएको आरोप लगाउँदै रिक्त पदमा शिक्षक नआउँदा विद्यार्थीहरूको शैक्षिक गतिविधि ठप्प भएको बताएका छन्।






