आश्विन २६, २०८२, आइतबार

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पुनः पक्राउ परेका छन्। उनलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नियन्त्रणमा लिएको हो।

गत वर्ष चैत ९ गते जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै महरालाई छोराको जिम्मामा छाडेको थियो। तर, सोही प्रकरणमा नयाँ प्रमाण फेला परेपछि प्रहरीले पुनः पक्राउ गरेको स्रोतले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरामाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान अघि बढाइरहेको छ। उक्त प्रकरणमा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरिएको आरोप छ।

तीन वर्षअघि भएको यो तस्करी प्रकरणमा महराले प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट सिलसिलेवार रूपमा उन्मुक्ति पाएका थिए। तर अख्तियारले नयाँ प्रमाणका आधारमा अनुसन्धानलाई अघि बढाएको हो।

गत बिहीबार अख्तियारले टंगालस्थित कार्यालयमा महरालाई बोलाएर बयान लिएको थियो। यसअघि २०७९ सालमै सोही प्रकरणमा महरा अनुसन्धानको घेरामा आएका थिए।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार, महराका छोरा निर्मल महरा को मोबाइलबाट फरार चिनियाँ नागरिक लुई हानसोङ सँग ११ पटक सम्पर्क भएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, सुन तस्कर दाओजिन वाङ ले समेत महरासँग ११ पटक फोन सम्पर्क गरेको विवरण प्रहरीले फेला पारेको छ।

त्यस्तै, उनका अर्का छोरा राहुल महरा सँग सोही समूहसँग २८ पटक फोन सम्पर्क भएको देखिएको छ।

२०६२/६३ को राजनीतिक परिवर्तनपछि माओवादी शान्ति प्रक्रियामा सहभागी भएका महरा त्यसयता चार पटक सांसद, छ पटक मन्त्री र एक पटक प्रतिनिधि सभाका सभामुख बनिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0