धादिङ, असोज २८ ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि देशमा उत्पन्न विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेपाली कांग्रेस धादिङका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन आह्वानका लागि हस्ताक्षर संकलन अभियानलाई तिव्र पारेका छन्।
धादिङ क्षेत्र नं–१ बाट २१ जना र क्षेत्र नं–२ बाट १६ जना गरी कुल ३७ जना महाधिवेशन प्रतिनिधिहरू, अर्थात् जिल्लाभरका करिब ७० प्रतिशत प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
संयुक्त पत्रमा भनिएको छ, “जेनजी आन्दोलनपश्चात् उत्पन्न विशेष राष्ट्रिय राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई बलियो र नयाँ काँग्रेस बनाउनका लागि नीति, नेतृत्व र संगठन सम्बन्धी विषयमा ठोस निर्णय गर्नु अपरिहार्य भएकोले यथाशीघ्र विशेष महाधिवेशन आह्वान गरियोस्।”
नेपाली कांग्रेसको विधान २०७७ (संशोधनसहित) को धारा ७७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन बोलाउन माग गरिएको पत्र केन्द्रीय कार्यालयमा हस्तान्तरण गरिएको हो।
अभियानको संयोजन धादिङ क्षेत्र नं–२ का सभापति राकेश धमलाले गरेका हुन्।
“धादिङका अधिकांश प्रतिनिधिहरूले हस्ताक्षर गरेर देखाएकाे एकतालाई अब राष्ट्रिय रुपान्तरणमा रूपान्तरण गर्नुपर्ने छ। कांग्रेसभित्र नीतिगत स्पष्टता र नयाँ सोचको आवश्यकता देखिएको छ।” धमलाले भनेका छन् ।
यसैबीच, नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी लगायतका केही नेताहरू भने विशेष महाधिवेशनको पक्षमा खुलेर देखिएका छैन्न ।
धादिङ कांग्रेसका नेता गोकर्ण अर्यालका अनुसार, “जिल्लामा ७० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन्, यो स्पष्ट सन्देश हो — कांग्रेसलाई अब रूपान्तरण चाहिएको छ।”
धादिङमा सुरु गरिएको यो अभियानलाई अहिले पार्टीभित्र चलिरहेको आन्तरिक बहसको महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।






