धादिङ । लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धादिङको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रामबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न सभामा नेपाल नगरपालिका महासंघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा संस्थाका सचिव भोजबहादुर थापा मगरले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार सहकारीले स्थापना भएको १८ वर्षमा स्थिर आर्थिक प्रगति हासिल गरेको छ।
२०६५ साल असोज ६ गते डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भई सञ्चालनमा आएको सो संस्था हाल ३५० जना बालबचत सदस्य र ५७ जना दैनिक बचतकर्तासहित सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ।
सहकारीको आर्थिक वर्ष २०८१/०८२ सम्मको विवरणअनुसार शेयर पूँजी ३६ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ भने कुल बचत १ करोड ८८ लाख ८६ हजार ७२२ रुपैयाँ ५९ पैसा रहेको छ। सोही अवधिसम्म सहकारीको बैंक डिपोजिट ४० लाख ९५ हजार २४९ रुपैयाँ १० पैसा र ऋण लगानी २ करोड १२ लाख ८० हजार ८६५ रुपैयाँ पुगेको छ।
ऋण लगानीबाट २७ लाख २९ हजार ८९७ रुपैयाँ ५७ पैसा ब्याज आम्दानी भएको छ भने बैंकबाट प्राप्त ब्याज ६१ हजार २९१ रुपैयाँ रहेको छ। संस्थाले चालु आर्थिक वर्षसम्म ९ लाख ७३ हजार ११ रुपैयाँ २५ पैसा खुद नाफा आर्जन गरेको छ। सहकारीको तरलता दर १५ प्रतिशत रहेको सचिव थापा मगरले जानकारी दिनुभयो।
साधारणसभाको अवसरमा संस्थाका संस्थापक सदस्य वीरबहादुर आले मगरलाई खादा र माला लगाएर सम्मान गरिएको थियो। त्यस्तै, संस्थाका असल ऋणीहरू र असल बचतकर्ताहरूलाई समेत प्रशंसा पत्र र सम्मानका साथ गौरव गरिएको थियो।
कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, सरोकारवालाहरू र अतिथिहरूको उपस्थितिमा आगामी वर्षका योजनाबारे पनि छलफल गरिएको थियो। सचिव थापा मगरका अनुसार संस्था आगामी वर्षमा सदस्य हितमुखी कार्यक्रम, पूँजी विस्तार र डिजिटल प्रणाली सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने योजना रहेको छ।






