धादिङ , कार्तिक ८ २०८२
गुणस्तरीय शिक्षाको आधार र मर्यादित शिक्षण पेशाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल शिक्षक संघ, बागमती प्रदेश कार्यसमितिले दुईदिने “प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम” आयोजना आजदेखि संचालन भएको छ । उक्त कार्यक्रम आज कार्तिक ८ र भोलि ९ गते काठमाडौंको नयाँ बानेश्वर बहुमुखी क्याम्पसमा सञ्चालन हुने संघले जनाएको छ।
कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका सबै स्थानीय तहका अध्यक्षहरूको सहभागिता रहनेछ। संघले स्थानीय तहमा संघको संगठनलाई सुदृढ गर्दै शिक्षकमाझ एकता र पेशागत मर्यादाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताएको छ।
कार्यक्रमका सहजकर्ता तथा प्रशिक्षकका रूपमा नेपाल शिक्षक संघका पूर्वअध्यक्षहरू केशव प्रसाद भट्टराई र केशव निरौला, वर्तमान अध्यक्ष राजेन्द्र राज पौडेल, तथा ललित किशोर सुवेदी सहभागी रहनेछन्। उनीहरूले संघको नीतिगत दिशा, नेतृत्व विकास, शिक्षण पेशाको मर्यादा र संगठन सुदृढीकरणका विषयमा प्रशिक्षण दिनेछन्।
संघका पदाधिकारीका अनुसार, दुईदिने यो कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने मात्र नभई स्थानीय तहमा संघको भूमिकालाई अझ प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ।
नेपाल शिक्षक संघले “गुणस्तरीय शिक्षाका लागि सक्षम शिक्षक, र मर्यादित शिक्षण पेशाको पहिचान” भन्ने नारासहित देशभरका शिक्षकमाझ पेशागत एकता र अधिकारका सवालमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।






