धादिङबेँसी । धादिङबेँसीस्थित सुगमटोल ॐ शान्ति नजिक मण्डप निर्माण गरी पूजापाठसहित अस्ताउँदो सूर्यको आराधना गर्दै छठ पर्व धार्मिक उत्साहका साथ मनाइँदैछ । श्रद्धालुहरूले बिहानदेखि व्रत बसेर बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजा–आराधना गर्ने गरेका छन् ।

साँझपख महिलाहरू परम्परागत पहिरनमा सजिएर दान, भेटी र पूजा सामग्रीसहित मण्डपमा भेला भएका छन् । गाई पूजा, सूर्य आराधना र रातभर जाग्राम बसेर भक्ति–भावसहित पर्व मनाउने चलन छ ।
पहिला मुख्य रूपमा तराई क्षेत्रमा मात्र मनाइने छठ पर्व अहिले देशभरकै धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ । धादिङमा पनि पछिल्ला वर्षहरूमा यो पर्वप्रति श्रद्धा र चासो बढ्दै गएको देखिन्छ ।
स्थानीयवासीहरूका अनुसार छठ पर्व सूर्य देवताको आराधना र परिवारको सुख–शान्ति तथा समृद्धिको कामनासहित मनाइन्छ ।







