धादिङबेँसी । नेपाल मानव अधिकार संगठन धादिङका सभापति अधिवक्ता कृष्णराज अधिकारीको जन्मोत्सवको अवसरमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ स्थित माथिल्लो ओर्वाङ स्थित भूमिस्थान आधारभूत विद्यालयका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।
कार्यक्रमका क्रममा विद्यालयका संस्थापक अध्यक्ष, शिक्षक र कर्मचारीहरले दोसल्ला र मायाको चिनोद्वारा सम्मान गरिएको थियो । साथै विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण समेत गरिएको हो ।
पूर्ण रूपमा चेपाङ बालबालिका अध्ययनरत उक्त विद्यालयमा हाल कक्षा १ देखि ३ सम्म गरी ३४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी र शिक्षण सामग्री वितरण गर्दै उपस्थित अतिथिहरूले यस्ता सहयोगले ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच र गुणस्तर सुधारमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
जन्मोत्सवलाई सामाजिक सेवा र शैक्षिक सन्देशसँग जोड्दै, सभापति अधिवक्ता अधिकारीले ग्रामीण तथा चेपाङ समुदायका बालबालिकाको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।






