धादिङ , नीलकण्ठ ८ :- सुबिसु लिमिटेडको २५औँ वार्षिक उत्सवको अवसर पारेर धादिङ जिल्लाको एकमात्र बहिरा आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट जडान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सूचना प्रविधिको पहुँचबाट बञ्चित विशेष आवश्यकता भएका बालबालिकालाई डिजिटल शिक्षामा जोड्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम निलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि श्रेष्ठले प्रविधिको विकाससँगै शिक्षामा पहुँच सबैका लागि समान हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बहिरा विद्यार्थीहरूका लागि इन्टरनेट सेवा शिक्षण–सिकाइ प्रक्रियामा महत्वपूर्ण साधन बन्ने विश्वास व्यक्त गर्दै सुबिसु लिमिटेडको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगको प्रशंसा गर्नुभयो।
इन्टरनेट जडानप्रति खुसी व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले आधुनिक प्रविधिको प्रयोगले बहिरा विद्यार्थीहरूको सिकाइ क्षमता अभिवृद्धि हुने बताउनुभयो। उहाँले अनलाइन सामग्री, शैक्षिक भिडियो, सांकेतिक भाषामा आधारित स्रोतहरू तथा डिजिटल प्लेटफर्मको प्रयोगबाट पठनपाठन अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, विद्यालयलाई दीर्घकालीन रूपमा सहयोग पुर्याउने यस्ता पहलहरू निरन्तर भइरहनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सुबिसु लिमिटेडका रिजनल टेक्निकल इन्चार्ज तथा लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष महेश रिजालले कम्पनीको तर्फबाट आफ्नो धारणा राख्दै सुबिसु लिमिटेडले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिनुभयो। उहाँले भविष्यमा पनि समुदायको आवश्यकतालाई मध्यनजर गर्दै यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
Screenshot
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले इन्टरनेट जडानले बहिरा विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।