धादिङ, २०८२ पाैष
जेन्जी आन्दोलनका कारण देशको अवस्था लथालिङ्ग बन्दै गएको परिस्थितिमा जेन्जीहरूको रोजाइमा सरकार गठन भएपछि आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनको मिति घोषणा गरिएको छ। सोही सन्दर्भमा उत्तरी धादिङबाट विगत दुई दशकदेखि पार्टीमा निरन्तर संघर्ष गर्दै आएका सन्दिप स्याम्चेन तामाङले यसपटक धादिङ जिल्ला क्षेत्र नम्बर–२ बाट जेन्जी समूहको प्रतिनिधित्व गर्दै समानुपातिक कोटामा आफ्नो नाम सिफारिस गरिनु पार्टीले आफूलाई न्याय गरेको अनुभूति भएको बताएका छन्।
तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया कलाकार संघ धादिङ जिल्लाका संस्थापक अध्यक्षसमेत रहेका तामाङले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा छुट्टै पहिचान बनाउँदै जनताको मन जित्दै आएका छन्। २०६२/६३ को १९ दिने जनआन्दोलनदेखि पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी हाल खनियाबास गाउँपालिका पार्टी उपाध्यक्ष, प्रेस सेन्टर नेपाल धादिङका जिल्ला उपाध्यक्ष तथा जनकलाकार धादिङका अध्यक्षको जिम्मेवारीमा छन्।
नेपाली कम्युनिस्ट पार्टीको जेन्जी समूहको नेतृत्वबाट समानुपातिक उम्मेदवारका रूपमा प्रदेश तथा केन्द्रीय कमिटीबाट अन्तिम रूपमा नाम सिफारिस भई टिकट प्राप्त भएमा आफू विजयी हुने विश्वास तामाङले व्यक्त गरेका छन्। पार्टी, साथीभाइ तथा नेताहरूको सल्लाहअनुसार अघि बढ्दै जनताको घर–आँगनसम्म पुगेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै धादिङ जिल्ला पार्टीप्रति आभार तथा खुशी व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0