- बद्री पौडेल
- धादिङबेसी , १६ ,पौष २०८२
डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार धादिङबेसीमा सम्पन्न भएको छ।
अनलाइन मिडिया सोसाइटी धादिङको आयोजनामा तथा रुबी भ्याली गाउँपालिकाको सहयोगमा धादिङ उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा केशब अधिकारीको अध्यक्षता रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङ रहनु भएको थियो।
कार्यक्रममा डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, समाचार उत्पादनमा एआईको भूमिका तथा कन्टेन्ट निर्माणका नयाँ अभ्यासबारे छलफल गरिएको थियो। कार्यक्रममा प्रशिक्षकहरू अनिल अधिकारी र डि.आर. आचार्यले AI बाट कसरी समाचार तयार गर्ने, तथ्य संकलन, शीर्षक निर्माण, भाषा सम्पादन, फोटो तथा भिडियो कन्टेन्ट व्यवस्थापनलगायत विषयमा व्यवहारिक प्रशिक्षण दिनु भएको थियो।
प्रशिक्षकहरूले एआईलाई पत्रकारको विकल्प होइन, सहायक उपकरणका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै गलत सूचना, तथ्य त्रुटि र नैतिक जोखिमबाट जोगिन अपनाउनुपर्ने उपायहरूबारे समेत जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङले रुबी भ्याली गाउँपालिकामा हिमाल, जडीबुटी, तातोपानी कुण्ड तथा बहुमूल्य रुबी ढुंगा जस्ता प्रशस्त प्राकृतिक सम्पदा रहेको उल्लेख गर्नुभयो। यस्ता सम्भावनायुक्त स्रोतसाधन हुँदाहुँदै पनि आवश्यक प्रचार–प्रसार नहुँदा अपेक्षित विकास हुन नसकेको बताउँदै डिजिटल पत्रकारिता र अनलाइन माध्यमबाट प्रभावकारी प्रचार गर्न सके पर्यटन र स्थानीय अर्थतन्त्रको विकास हुने धारणा व्यक्त गर्नुभयो। यसका लागि गाउँपालिका आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा धादिङ जिल्लाका ३४/३५ जना अनलाइन सञ्चालक तथा पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै एआई र डिजिटल प्रविधिको सही प्रयोगले स्थानीय समाचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष केशब अधिकारीले डिजिटल प्रविधिसँगै पत्रकारितालाई समयअनुकूल बनाउँदै लैजान यस्ता तालिमहरू निरन्तर आवश्यक रहेको बताउनुभयो।







