धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवारहरू फागुन ५ र ६ गते नेत्रावती डवजोङ गाउँपालिका मा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय हुनुभएको छ।
प्रत्यक्षतर्फका उम्मेदवार रमेश धमला र समानुपातिकतर्फका उम्मेदवार सेतेमान तामाङ गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा बहुभाषिक, बहुजातीय र सांस्कृतिक विविधतायुक्त यस क्षेत्रमा १२ हजार १८८ जना मतदाता रहेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवारहरूले स्थानीय बासिन्दासँग साक्षात्कार गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक तथा खानेपानी जस्ता आधारभूत आवश्यकताका विषयमा सुझाव संकलन गरिरहेका छन्। मतदाताले आफ्ना समस्या र अपेक्षा खुलेर राख्ने अवसर पाएको भन्दै प्रत्यक्ष संवादलाई सकारात्मक रूपमा लिएका छन्।
“निर्वाचनलाई केवल मतदानको औपचारिकता नभई जनउत्तरदायी शासन स्थापना गर्ने अवसरका रूपमा लिनुपर्ने” नेपाली काँग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार रमेश धमलाले बताउनु भयो। “जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै सुशासन र स्थायित्व सम्भव छ,” धमलाले भेटघाटका क्रममा बताउनुभयो।
दुई दिने कार्यक्रममा जहाँ–जहाँ भेटघाट भइरहेको छ, त्यहाँ प्रत्यक्ष प्रश्नोत्तर र खुला छलफलसमेत भइरहेको नेपाली काँग्रेसका सहसचिव नवराज तिमलसिनाले बताउनुभयो। नेत्रावती डवजोङमा जारी यस अभियानले चुनावी माहोल थप सक्रिय बनाएको छ।






