काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (NEOC) ले देशभर १,३०० भन्दा बढी प्रशिक्षित पर्यवेक्षक परिचालन गर्ने भएको छ।
समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा पर्यवेक्षक खटाउने अन्तिम तयारी भइरहेको जनाएको छ। निर्वाचन स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यसहित व्यापक अनुगमनको तयारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
NEOC का अनुसार निर्वाचन प्रक्रियाको प्रभावकारी अनुगमनका लागि केन्द्रीय तह, सातै प्रदेश र ७७ जिल्लामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। लोकतान्त्रिक मूल्य–मान्यता, मानवअधिकार मापदण्ड, समावेशिता तथा प्रचलित निर्वाचन कानुन र आचारसंहिताको पालना भए/नभएको मूल्याङ्कन गरिने जनाइएको छ।
समितिले छोटो अवधिका तथा दीर्घकालीन पर्यवेक्षक परिचालन गर्ने चरणबद्ध योजना तयार गरेको छ। दीर्घकालीन पर्यवेक्षकहरूले निर्वाचन पूर्व चरणदेखि मतगणना र अन्तिम परिणाम प्रकाशनसम्म निरन्तर अनुगमन गर्नेछन्। साथै, काठमाडौं उपत्यका र संवेदनशील मानिएका मतदान केन्द्रहरूमा करिब १५० जना केन्द्रीय तथा वरिष्ठ पर्यवेक्षक खटाइनेछ।
पर्यवेक्षणका क्रममा निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, उम्मेदवार, सञ्चारमाध्यम, नागरिक समाज र मतदाताको भूमिकाको समेत मूल्याङ्कन गरिने समितिले जनाएको छ। निर्वाचनको विश्वसनीयता कायम राख्न सबै पक्षको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको NEOC को भनाइ छ।
यसैगरी मतदाता नामावली, मतदाता शिक्षा, आचारसंहिता पालना, चुनावी खर्च, सुरक्षा व्यवस्था, सामाजिक सञ्जालको प्रयोग तथा मतदान व्यवस्थापनजस्ता विषयमा समेत निगरानी गरिनेछ।
समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालालाई अन्तर्राष्ट्रिय निर्वाचन मापदण्ड, संवैधानिक तथा कानुनी प्रावधान र लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन आग्रह गरेको छ।