धादिङ । विकास निर्माणका विभिन्न आयोजनामा काम गरेका श्रमिक मजदुरहरुले हालसम्म ज्याला नपाएको गुनासो बढ्दै गएपछि गाउँपालिका अध्यक्ष रामसिंह तामाङले ध्यानाकर्षण भएकाे जनाएका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत विनियोजित बजेट अन्तर्गत उपभोक्ता समिति तथा बोलपत्र आह्वान विधिमार्फत सञ्चालन गरिएका विभिन्न आयोजना सम्पन्न भई कार्य स्वीकृतसमेत भइसकेको र गाउँपालिकाबाट सम्बन्धित समितिहरुलाई सम्पूर्ण भुक्तानी दिइसकिएको अध्यक्ष तामाङले उल्लेख गरेका छन्। तर, केही उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरुले डोर हाजिरीमा दक्ष तथा अदक्ष कामदारका रुपमा खटिएका श्रमिक मजदुरलाई ज्याला भुक्तानी नगरेको भन्ने लिखित तथा मौखिक गुनासो गाउँपालिकामा प्राप्त भइरहेको उनले जनाएका छन्।
उक्त गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष तामाङले सम्बन्धित उपभोक्ता समिति र निर्माण व्यवसायीहरुलाई डोर हाजिरीमा काम गर्ने सम्पूर्ण श्रमिक मजदुरहरुको बाँकी ज्याला यथाशीघ्र भुक्तानी गर्न अनुरोध गरेका छन्।
त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भइरहेका आयोजनाहरुमा कार्यरत सबै श्रमिकहरुको विवरण अद्यावधिक गरी नियमित रुपमा डोर हाजिरी फाराम संलग्न गरेर मात्र काममा लगाउन र श्रमिकहरुले पनि हाजिरी नभई काम नगर्न आग्रह गरिएको छ।
गत आर्थिक वर्षमा ज्याला नपाएका श्रमिकहरुलाई कानूनी व्यवस्था अनुसार गाउँपालिकाको न्यायिक समितिमा निःसंकोच उजुरी दिनसमेत अध्यक्ष तामाङले अपिल गरेका छन्। उनले श्रमिकको हक अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।






